‘गरिब र गरिबी’
संप्रेषित शव्दहरूले श्रोता÷पाठकका हृदयमा अनुभूतिको आकार बनाउन सकेमात्र भाषा मृदुल र कोमल बन्नसक्छ । भावबिहीन भाषाको चिच्याहटले बिनासका अनेकों अवस्थाको सिर्जना गरे पनि जीवन र जगतको महत्तामाथि न त अर्थको आकार ग्रहण गर्न सक्छ ? न त सृष्टिको संरक्षण नै ? हाम्रा हरेक शव्दको त्यही सामथ्र्य हुन्छ र परागको सुक्ष्मताबाट जीवनदाहिनी अमृत मधुरसको निर्माण भएजसरी नै शव्द कंक्रिडले पनि आलीशान भाषिक महल ठड्याएर संभ्रान्तताको विगुल बजाउन सक्छौं हामी । यद्यपि शव्द र अर्थको सापेक्षित सम्बन्धले जत्रो आयतन बनाए पनि गरिब गरिबीका रूपमा प्रयोग भएका पद÷पदावली आफैंमा संबृद्धिका द्योतक÷बाहक भने होइनन् । गरिब र गरीबी भाव जगतमा हाँसो खुसीका पटाङ्गिनीमा विश्मयका लीलाझैँ लाग्नसक्छन् । शव्दको बनावट र व्युत्पादनको घेराभित्रबाट भए पनि अर्थको आकाश त भोक्ताको सामथ्र्यभरि फैलिएको हुन्छ । यसर्थ गरिब भन्नु केही नभएको भन्ने कि धनसम्पत्ति नभएको भन्ने ? औ धनसम्पत्ति पनि आर्थिक, भौतिक, नैतिक, शैक्षिक, वौद्धिक.....वा यस्तै यस्तै अन्य !
कार्यव्यापारको क्षमताअनुसार विशेषण पदका रूपमा रहने गरिब पदको प्रायोगिक महत्वको सीमाङ्कन गर्न कठीन हुन्छ । विशेषणका रूपमा रहेको गरिब पदमा ई प्रत्यय लागेर भाववाचक नाम गरिबी को निर्माण हुन पुगेको देखिन्छ । जसको शाव्दिक अर्थ गरिब हुनुको भाव भन्ने नै हुन्छ । तर नेपाली भाषाका प्रायजसो शव्दहरू प्रयोगको सन्दर्भअनुसारको सामथ्र्य लिएर भाषामा रमाएका हुन्छन् । चमत्कारिक भाव संप्रेषणबाट भोक्ताबीच पनि अर्थगत सामथ्र्यको घम्साघम्सीले थर्काएमान हुन्छन् । तसर्थ एउटाले वरेण्य ठानेको अर्कोले जघन्य ठान्नु अनौठो नहुन सक्छ तथापि अतिरञ्जित तार्किक सामथ्र्यको भूमरीमा हालेर शव्द प्रशोधन गर्दा मात्र सही तुक आउनसक्छ भन्ने हुँदैन । गरिब र गरिबी यी दुबै शव्द एउटै गर्भासयबाट निसृत र विकसित भएका भ्ुण हुन । बिपन्नताको भावका संवाहक पनि हुन ।
। गरिब भनेको नहुने हो तर के कती नहुने ? सहज दैनिकीका लागि नभै नहुनेको अभाव कि इच्छाअनुसार नहुनुको अभाव ? अत्यावश्यक सर्त पुरा गर्न भएको अभाव कि यथेष्टको अभाव ? अभाव पनि त सापेक्ष वा निरपेक्ष हुन्छन् ! तसर्थ गरिब शव्दलाई अभावजनित भावको आशयभन्दा बढी अर्थगत आशयको सँधै अपूर्णता हुने शव्द भनी परिभाषित गरे पनि हुने देखिन्छ भने गरिबी त्यसैको भाववोधक तत्वअनुभूतका रूपमात्र देखिन्छ ।
स्रोत, सीप, समय, सामथ्र्य, अवसरको अनुकल तथा उन्नत संयोजन हुने हो भने गरिब जीवनको सापेक्षतामा संस्कारजनित अवस्थामात्र हो तुलना गरेर मात्र मापन हुने । तुलना नगरी पनि मापन एक्कीन गर्ने मापनका आधारको अपर्याप्तता छ जहाँ पनि । हरेक शव्दका समानार्थी रूप भावनात्मक अनुभूतिसँग मेल नखाने पनि हुन्छन् । तुलना गर्ने आधार नहुने हो भने विपरीतार्थी शव्दको महत्व पनि फिक्का हुन्छ ।
शित तप्कानी शिरैमा ओढेर हुरीबताससँग डोरिंदै हिउँद बर्षा खेप्नेहरू, चाराको अभावमा बेगिएर टाढाटाढासम्म चाहार्ने पक्षीजसरी नै जठराग्नीको ज्वाला समन गर्न जुठोपूरोका आसले अर्काकै दैलो दलान ढुक्न पुग्नेहरू मात्र गरिब होइनन् । यसो त आम्दामी मापनको सीमारेखा तयार गरेर गरिबको परिभाषा गर्न खोजे पनि त्यहीमात्र मापनको आधार यथेष्ट हुँदैन गरिब भन्नलाई बरु जीवनका आधारभूत आवश्यकता पुरा गर्न धान्ने आम्दामी हुन्न भने त्यसलाई भन्नु उपयुक्त हुन्छ । भौतिक÷आर्थिक शक्ति सामथ्र्यको चलखेलका आधारमा मात्र गरिएको बिभाजनले ठहरेका आर्थिक रूपमा बिपन्नहरू गरिबभन्दा बाह्य आवरणको साजसज्जा जति भए पनि गुह्य चिन्तनका दरिद्रहरू झन कङ्गाल नै हुन्छन् व्यबहारमा । सम्पत्ति चाङको आलिशानमा जति उफ्रिए पनि चिन्तन सङ्कुचित भएका मनोरोगीहरू गरिब नै हुन्छन् डाह वा डोरेडोमा अल्झिनेहरू । विद्वताको अहंकारले अरुप्रति सँधै दुर्वाच्यमात्र बोलिरहनेहरू सम्पन्न होइनन् । चिन्तन दरिद्र हुनेहरूको जीवन सम्पन्न हुँदैन । अधिकारलाई हतियार बनाएर निरीहलाई निमोठ्नेहरू, ख्वामित खुसी पार्न कर्तव्यलाई कुल्चनेहरू, निष्ठाबाट नाङ्गिईसकुञ्जेल पनि प्रलोभनको पूजाआरतीमा रमाउने वकवकोपाध्याका उपाशकहरू, जाँगरलाई विश्रामको शैयामा बिराजमान गराएर अर्काको कामको मात्र चियो गर्ने आलश्यका उत्तराधिकारीहरू नै गरिब हुन र त्यसैबाट सिर्जित जीवनदर्शन गरिबीको सिद्धान्त अनि ग्रहण गरिने अनुभूति वा आभास गरिबी हो ।
गरिब जीवन हो, अवस्था हो र गरिबी आभास । अवस्था प्रत्यक्ष हुन्छ आभास परोक्ष अनि अनुभूतिमा उनिएर शरीरका शिराशिरामा संचारित हुनछ । प्राकुतिक तत्वको सन्तुलित मिलनबाटै भ्रूण हुँदै जीवन ग्रहण गरी मृतयुबरणको यात्रासम्ममा सबैको गति यति उस्तै हो, स्वास–प्रस्वास, आहार÷विहार, उत्सर्जन्, गमन औ मरण । यसर्थ अभाव भन्नु त भावको शुन्यतामात्र हो । अभाव भौतिक हो भाव आध्यात्मिक ।
भौतिक÷आर्थिक गरिब अभाव हैन अपूर्णतामात्र हो नभई नहुने पनि चाहिने जति नहुनु । जीवन लिई आउँदा पाएका ज्ञानेन्द्रीय, कर्मेन्द्रीयहरू पूर्ण भए पछि कसरी हुन्छ र गरिब ? इन्द्रीयाभावले पूर्ण जीवन नै हुँदैने । अङ्गको अपूर्णताले सामथ्र्यलाई खिज्याउँदा गरिब हुनु अपवादवाहेक केही पनि होइन । झरनाको आवाजमा सितारको झङ्कार र झ्याउँकिरीका स्वरमा संगीतको रागिनी र मुच्र्छना बुझिने यस धराधामका जातीय सुत हामी ं गरिब होइनौ । फाँटबाट सह उठाएर लगी कन्धराका गरागरामा संबृद्धि फलाउन सक्ने यस उर्वर भूमिका भूमिपुत्र हामीमा गरिबी पनि छैन । तोप र बारुदको त्रासद सहजै सहेर खुँडा र भालाले साम्राज्यका मसिंहाको दोअन गर्ने वीरवीरङ्गनाका वंशज हामी किन हुन्छौं गरिब ? मोतिजडित मृत्तिकामा छाञा हेरेर पक्षीका कलरवमा मन्त्रमुग्ध हुने हामी कहिले भएका छौं गरिब ? सृष्टिचक्रको फेहरिस्ताको लेखा राख्ने पूर्वीय वेदान्त दर्शनको बीज भूमि, दार्शनिक महर्षिको तपोभूमि, देवदेवीको क्रिडाभूमि, उषा वा निशाको स्पर्शमा पनि उ्नमुक्त हाँसो अभिव्यञ्जित भइरहने यस धराधाम र यहाँका हामी किन हुन्छौ गरिब ? सदभाव र सहिष्णुताको अविश्रान्त सहयात्रामा वेद, बाइबल, कुरान, त्रिपिटक...आदि आदि सबै एकैपटक ध्वनित हुन सक्ने पावन भूमिका हामीलाई कसले बनायो गरिब कि कसले भनायो गरिब ? धनाभावभन्दा मनाभावका कारण परायको हाँसोझै बनेको छ हाम्रै जीवनको दैनिकी । आफैँसँग भएको सम्पननताको अलकापुरी थाहा पाएनौं, थाहा पाएर पनि काममा लाएनौं, संघारमै सुस्ताइरहने उन्नतिका उर्जाको उपयोगभन्दा ज्यानको जाखिम मोलेर परायका दलानका दर्वान बन्न राजी हुने प्रबृत्तिले समयसँग आफैँभित्रको पितुर्के स्वभाव अरुलाई देखाएर गरिबीको डोडेरो गायौं ।
गरिब इच्छाहरूको समष्टिभित्र उपायप्रतिको असन्तुष्टि वा उपाय प्रतिपादनमा रहेको पछौटे पनाको अभिव्यक्ति सङ्केतको रूप हो । यो प्रबृत्ति संसार जहाँ मानव अस्तित्व रक्षाका लागि आफूलाई कुनै पनि रूप वा अवस्थामा घेरिरहेको छ त्यहाँसम्म नै ब्याप्त पनि छ । मानवीय संवेदनाका संवाहक मानव शरीर शिराका तन्तुहरू रहुन्जेल यो अभावको आभासबाट मुक्त हुन मानिस सक्दैन पनि । औकातले अभावलाई सूचीकरण गर्दै र अभावको स्तरोन्नति पनि गर्दै लैजाने अनन्त यात्राको स्थायी साथीझैं भएर पछ्याइरहन्छ गरिबीले । तथापि यो सिङ्गो संसार र सृष्टि जगतको उहापोह असुलेर गरिब र गरिबीको चङ्गुलमा सम्भ्रान्तता खोज्ने हो भने प्राप्तिको संभावना प्रायः शुन्य हुनजान्छ ।
हामी र हाम्रो सन्दर्भमा पनि गरिब र गरिबीको आभाष वा उदाहरण एकनास छैनन् । गरिबीबाट मुक्त भएर संबृद्धिको आधार खोज्न झन या त स्वभाविक जिजीविसाबाट मुक्त हुनु हो या प्रलोभनले पिरोलेरै पलायन हुनु हो । अन्ततः संसारकै संभ्रान्त कहलिएकाहरू पनि प्राणवायुको अभावले, हृदयगतिको अभावले, इन्द्रीय गतिशीलताको अभावले, आत्माको उपयुक्त आश्रयको अभावले इहलीलाको समाप्ति भै नदेखेको सुख र नभोगेको आनन्दमा विलिन हुन्छ । यसर्थ गरिब हुनु भनेकै जीवनको जीवित अस्तित्व सुरुक्षण गर्न चाहिने न्युनतम सर्त पुरा गर्न पनि गाहृो हुने अवस्थाको हुनु हो र त्यही अनुभूति आभाष वोधको अनुभूति शुन्य अवस्थाको वोध गरिबी हो । अर्थात जीवन जीउने अनुभूति र अवस्थाका असहज रूप गरिब हो र यसको भावगत नामाकरण गरिबी हो । यो धनसमपतिसँग त सम्बन्धित छ नै तर त्योभन्दा पर मनोदशा पनि हो । हुँदै नहुने गरिब र उसको अनुभूति संवेगमात्र गरिबी होइन । संपति सामथ्र्यभन्दा लालसाको चाङ ठलो हुनेहरू,द्रव्यमा संस्कार साटेर अभाव फत्फताउनेहरू सभ्यताको पर्बाह नगरी ढुकुटी भर्न तम्सनेहरू नै साँचो अर्थमा गरिब र उनीहरूमा रहेको मनोवृत्ति गरिबी हो ।
No comments:
Post a Comment