Sunday, July 12, 2020

कविता

   जन्मस्थलप्रति


तीनजुरेदेखि मिल्केको भञ्ज्याङ पूर्वको नागीधार
रश्मीका धर्का छर्दछन् उस्तै सुनौला उपहार ।
साँझ र विहान स्वर्णझैँ हुने मकालु साक्षी छ
सुनसान बग्ने अरुणको मुहान त्योभन्दा माथि छ ।

वर र पर हिमालको ताँती झर्दछन् भङ्गालो
त्यो अर्को पाटो लाली गुराँसको नौरङ्गी संगालो ।
त्यसको माथि लेकाली चहुर चौरीका बथान
छेवैमा धुपी पवित्र पनको छर्दैछ वासना ।।


डाँफे र मुनाल कस्तुरी मृग लेकाली पाखामा
कानमा बुकी सिउरेर डुल्छन पहाडी भाकामा ।
ती मेरा गाउँले साथी र संगी त्यहींछन् रमेका
बाउसे लाउँदा दोहोरी गाउँछन् भाका छन् अनेक ।।


घर र बारी बेंसी र भीर वनपाखा पनेरो
समूच्च एउटै प्रकृति पुञ्ज त्यो गाउँ हो मेरो ।
सम्झेर कति श्रद्धाका सुमन चढाउँथें पैलेनी
अपुग नै हुन्थ्यो अर्पिन्थे मैले हृदय जैलेनी ।।


थपिन्छ भाव पुग्दैन भक्ति के दिऊँ अरु खै..
जन्मेको ठाउँ पवित्र हुन्छ यै जानी लिएँ है ।
छोएको माटो, हिंडेको बाटो पहिलो धराधाम,
जन्मेको ठाउँलाई सम्झेर श्रद्धा गर्छु म जप्दै नाम ।२। 

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...