Sunday, July 12, 2020

समिक्षा




                                                 ‘आजकाल’ कवितामा कवि बल              
                                                                                                       


संयोगले मात्रै हो जीवन सोचेजसरी नै बग्ने वा बगेजसरी नै सोचिने । नभए त जीवनको सोचाइ सपनासरि हो देखुन्ज्यालको सत्य त्यस पछिको भने सपना मात्रै । तर सपनाका ब्याडहरुमा भावनाको वीउ छरेर अनुभूतिका लहराहरु झाङ्गिन दिन कसैले सक्छभने त्यो सर्जक स्रष्टा हो कवि , त्यसैले भौतिक रुपको देह ढलेर गए पनि विचार बाँचिरहने युगयुग पनि हो स्रष्टा । त्यसैले भनिन्छ  कवि स्रष्टा कालजयी हो उसका सिर्जनाले हरेक क्षण जितिरहेको हुन्छ साथै समय र सन्दर्भ अनुसार उत्तिकै प्रभावशाली विचारहरु संप्रेषित भइरहन्छन्   एउटै कविताका पनि भिन्न भिन्न समयमा । त्यस्तै कालजयी रचनाका कुशल शिल्पी हुन कवि कष्णभूषण बल (२००४—२०६९) ।
आधुनिक नेपाली कविता,काव्य साहित्यको समसामयिक धाराका सशक्त कवि कृष्णभूषण बल अनुहारको शालीनता जत्तिकै भावको गम्भीरताका कवि हुन् । नेपाली जनजीवनको साझा यथार्थभन्दा  पृथक जीवन गति ,शैली र पद्धति प्राय नभएका कवि बल साँच्चै नै आप्mना रचनाहरुमा पनि नेपाली जनजीवनले सामना गरेका यथार्थहरुलाई प्रस्तुत गर्दै त्यसभित्र रहेका विकृति तथा विसंगतिहरुबाट मुक्त हुन साहसिक सन्देश संप्रेषण गर्ने अब्बल दर्जाका खप्पीस कवि हुन् । प्रकृति बर्णन र माटोको ममता पनि उनका रचनामा  मग्मगाउने सौरभमयी भावहरु ह्ुन् । रचनाको संख्यात्मकता उनको उल्लेख्य पाटो होइन ,बरु पाठककै मनभित्र पसेर सरल भइकन पनि खँदिलो ,छोटैमा अटाएर पनि विश्लेषित विचारको संप्रेषणीयता , संक्षिप्त संरचनामा सागरसरिको प्रवाह र सामथ्र्य कवि बलका रचनाका गुणत्मक पक्षहरु ह्ुन् । लाग्छ भोगाइ बाध्यता भए पनि सत्य त्यतिमात्र  होइन , खोज्न बाँकी पनि सत्य हो खोजिरहनुपर्छ । प्राप्ती अन्तिम होइन प्रयत्न निरन्तर भइरहनु पर्छ । कवि बल हृदयको यस्तै भाव पूञ्ज हो ‘भोलि बास्ने बिहान’ कविता संग्रह र त्यसैभित्रको एउटा कविता  हो ‘आजकाल’। जहाँ कविले अभावैअभावका पुन्तुराहरुले जेलिएको समसामयिक नेपाली जनजीवनको बाध्यात्मक यथार्थको प्रस्तुति सहित परिवर्तनको अपरिहार्यतालाई  प्रस्तुत गरेका छन् ।
‘अन्तरमनमा रहेका अनुभूतिहरुलाई शव्दको सप्कोमा बाँधेर हुलुक्क पारेर ओकलिदिनु त्यो पनि पाठक हृदयले आस्वादमा रमाउन सक्ने गरी’ यही नै बन्छ कविता । त्यस्तै पनि लाग्छ  बलको ‘आजकाल’ कविता । जहाँ कला पक्षको सराहनाको कुनै सीमा छैन ,बिम्ब संयोजनको कौशलता उत्तिकै प्रवल छ । हो ,साँच्चै नै उनले कविता लेख्दाको आजकाल विगत हुन सकेको छैन अझै ज्यूँका त्यूँ छ । विसंगतिको जालोमा बेरिएको होस् वा विपत्तिको मारमा पेलिएको अवस्था समय उस्तै निरस, नियति झन निकृष्ट बनेको छ । हरेक क्षण जोखिमयुक्त हुँदा  अवसर विहीन भएका छन् मान्छेहरु । जसले गर्दा प्राकृतिक अधिकारबाट समेत कुण्ठित बनेर लाचार जीवन बाँच्नु परेको हाम्रो वास्तविकता कवितामा पोखिएको छ ।  दिनको आङमा काँडा उम्रनु ,निश्सारताको प्रतिकात्मकता अनि सिरक ओढेर घाम सुत्नु प्राकुतिक अधिकारबाट समेत कुण्ठित हुनुपरेको भाव कवितामा पाइन्छ । समकालीन समाज वा विश्व परिवेशले मानवीय मूल्य मान्यतालाई जत्तिकै महत्व दिएको भए पनि हाम्रो सनदर्भमा सीमित शक्तिकेन्द्र भन्दा पर न त यसको चर्चा ,न त अवसर र संरक्षण नै छ । केवल दुई चार कपट तथा शक्ति सम्पन्न निकृष्ट व्यक्तिहरुको बोलवाला  सहनु नेपालीहरुको बाध्यता बनेको छ र असल विचार र विवेक हुनेहरु पनि समाजमा व्याप्त सामाजिक विकृतिहरु ह्टाउन नसकेर कुण्ठित बन्नु परेको यथार्थ दर्शाउँदै नेपाली रानीतिमा देखापरेको निरङ्कुस एवं अवसरवादी प्रबृत्तिलाई प्रस्तुत गरिएको छ कवितामा । युग परिवर्तनका संवाहक कलमजीवी स्रष्टाहरुले जनचेतनाको लहर ल्याएर आमूल परिवर्तनको अग्रणी भूमिका लेखक कलाकारहरुको पनि हो तर त्यो पूरा हुन सकेको छैन भन्दै क्रान्ति चेतनाको उद्घोष कवितामा भएको छ ।
शित र खडेरीको भौतिक स्पर्श सडकले गरे झैं कवि हृदयले समय र समस्याको भाव स्पर्श गर्छ ,त्यसैले कविको छाती आकारले होइन अनुभूतिले पीडा झेल्दैछ अभावको । उदासिनताले जानी नजानी कवि हृदयमा हिर्काइरहेछ । विश्रृङ्खल भावहरु सल्बलाउँदा कवि हृदय पनि आक्रान्त बनेको छ । एकैचोटी भङ्गालो झैं भएर बगेका कविका कल्पनाहरु कविलाई नै क्रम मिलाउन गाह्रो भए झैं प्रतीत हुन्छ । मान्छेमा माटोको ममता मुटमा ुभरिदिने, मनका आवाजहरु कवितामा रचिदिने विचार कविमा रहेको  छ ।
हो हाम्रो आजकाल भनौ वा हामीले भोगिरहेको हरपल साँच्चै नै शान्त  बन्न सकेको छैन । कोलाहल कालजयी बनेर  चरा र पुतलीका प्राकृतिक अधिकार खोसिए झैं मानिसका विचारहरु लुटिएका छन् । आफ्नै भावभूमिका नैसर्गिक स्वरहरुको पनि अभाव र मनमष्तिष्कमा छाएको त्रासदीप्रति कवि चिन्तित छन् । श्रमजीवी किसानका पसिनाको मूल्य होस् वा पेशाको मर्यादा, विचारका खानी भोलिका भविश्य थेग्ने सन्ततिहरु सबैसबैप्रति श्रद्धा राख्ने कवि साँच्चै नै युग÷समय÷काल कुनै अवधि विशेषलाई मात्र नभई अविछिन्नतालाई भनिरहेछन् ।
काल अवधि विशेषलाई मात्रै भनिएको छैन कवितामा ,काल आचरण बनेको छ । आज बेला होइन व्यक्ति बनेको छ । त्यसैले त कवि  हृदयले बिद्रोहको बिउ रोप्न चाहन्छन् ,चेतनाले गोड्न चाहन्छन्  । व्यभिचारको पराकाष्टमा पुगेको व्यक्ति र उसको आचरण नै कविताले ठानेको आजकाल हो , कवि यसलाई अनिष्टताले घेरेर डरलाग्दो भए झैं देख्छन् । अन्त्यको अवस्यम्भावी संघारमा आजकाल पुगेको ठान्ने कवि परिबर्तनप्रति आश्वस्त बनेका छन् अनि त्यस परिवर्तनकारी संग्राममा आफू सँधै संगै संगै हुने प्रतिवद्धता राख्ने कवि मानवताको जयगान गर्दै उन्मुक्तिको इतिहास लेख्ने श्रेय पनि स्रष्टाहरुकै ठान्छन् । लेखक स्रष्टाहरु नै इतिहासका स्रष्टा र द्रष्टा पनि हुन भन्ने विचार कविले कवितामा राखेका छन् ।
समग्रमा आजकाल कविता हाम्रो अतीत पनि हो र वर्तमान पनि हो । हाम्रो अनुभूति, विशेषतः नेपालको राजनीति र त्यसको हरेक खण्डहरको शासन पद्धति र यसले स्वीकार्नै नसकेको मानवतावादको समकक्षमा नेपाली जनजीवनको यथार्थ अनि नेपाली जनमानसले राखेको आसाको कलात्मक प्रस्तुति, बिद्रोही भाव ,परिवर्तन प्रतिको  विश्वस्त विचार नै कवि बलको आजकाल कविताको मूलभाव भूमि वा साङ्गोपाङ्गो विचार मान्न सकिन्छ । (२०७४ कार्तिकमा अन्तर्वोध त्रैमासिकमा प्रकाशित)

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...