शंकरसुवेदी‘उत्स’
तीन बर्ष अघि हो सुधाले यस घरमा पाइलो हालेको ।“के मिलेका वर वधु, क्या सुहाएका जोडा जोडी, यस्तो मिलेका जोडी त खोजी हिंडे पनि वीरलै पाइएला ..!” भन्दै गाउँलेहरु बाटा लागेका थिए सुदीप र सुधालाई एउटै प्रणय बन्धनमा बाँधेर । हुन पनि सुहाउँदा सुन्दर दम्पत्तिको मात्रै हैन एक एकमा पनि युवा युवती बीचमा होस् वा अन्यान्यको हेराइमा सुन्दरताको उदाहरण नै थिए सुदीप र सुधा । धन्यहोस् प्रकृति ,जसलाई पनि केही न केही त दिएकै छ ,उसमाथि पनि सबका सब लोभ्याउने रुप दिएर सदीप र सुधालाई हुर्काइ एक आपसका दम्पत्ति बनाएर एक सूत्रमा बाँधिने संयोग जुटाइदिएकोमा ।
यी दम्पत्तिमा जे थियो त्यो उनीहरुको रुप अनि एकअर्का प्रतिको पवित्र प्रेम नै थियो ,त्यो वाहेक उनीहरुको भन्नु नै के थियो र ? सुधा गर्भमै हुँदा उसका बाबुलाई हैजाले टिपेर लगिदियो । चार महिनाकी छोरी सुताएर घाँस काट्न गएकी आमालाई चिप्ले भीरले सिसुवामा हुत्याइदियो । मामलीमा हुर्किएर एनकेन दुलाहाको साथ लागेकी सुधालाई आपदको सहारा भने पनि खुसीको हाँसो भने पनि सुदीप नै थियो । दुलही भएको महिना दिन नबित्दै प्रकृतिको विपत्ति खनिएर आफ्नो भन्ने केवल सुदीप बाँकी रहेर सासू ससुरा समेत गुमाएकी थिई सुधाले । गैरीबारीको झुप्रामा बसेका दम्पत्ति कति सुखी थिए ? त्यो त अभावकोे पीडा भावहीन जीवन भोग्नेलाई के थाहा... होला वा भनौ मातृवात्शाल्य कस्तो हुन्छ त्यो त सन्तान जन्माउने आमालाई नै थाहा होला ?देख्नेहरुका निम्ति उनीहरुको रुप र बुझ्नेहरुका निम्ति उनीहरुको पवित्र प्रेम नै पर्याप्त थियो तर साँझ विहान त्यस झुप्रामा अभावका घण्टाहरु कति बजे त्यो भने अरुले सुनेनन् ।
बिहानको मिर्मिरेदेखि झमक्क साँझ परुञ्जेल जीवनसङ्ग लाप्पा खेल्दै लखतरान हुँदा पनि अभावसङ्ग हार खाएर विहे भएको छ महिना बित्दानबित्दै एक पेट खाने र एकसरो लाउने धोको बोकेर पवित्र प्रेमको अङ्गालोलाई पनि केही दिनका लागि छाड्दै भुटुनका निम्ति भनी साँचेको एक चम्ची घीउ सुधालाई ल्याउन लाएर क्वाप्प खाँदै शुभ साइतमा सुदीप हिंडेको पनि दुई बर्षभन्दा बढी भइसक्यो आजसम्म फर्किएको छैन । सुधा हरेक रात सुन्दर सपनाहरु हेर्छे ,प्रभातमा संगाल्छे र झमक्क साँझ परुञ्जेल बाटो हेर्दै टोलाएर सारा सपना पोल्ने गर्छे । मध्य रातमा गाउँका कुकुरहरु भुके भने पनि सुधा झस्किन्छे र बाटोतिर नियाल्ने गर्छे । “ चाँडै फर्किआउँछु है !” भन्दै सुदीप विदा हुँदा आँखाभरि आँसु टप्काएर ‘हवस’को भाकामा मुन्टो हल्लाएकी थिई सुधाले तर उसको सुदीप अझसम्म आएन ,खबर पनि लाएन । अब ऊ आफैं भित्रको अनुत्तरित प्रश्नको उत्तर आफैंसङ्ग खोज्ने गर्छे , ऊ किन आएन ? “चाँडै फर्की आउँछु है” भनेको थियो ,त्यो चाँडै कहिले हुन्छ र ऊ फर्की आउँछ नत्र किन अहिलेसम्म आएन ?
छिमेकका प्रदेशीहरु आउन थाले । बनीबुतो गरेर भए पनि आउला भन्ने आशामा परदेशीका निम्ति सबै घरमा एक छाक मीठो मसिनो तयार पारेकै थियो ।परदेशीका सौदा र उपहार सबैले बाँडेकै थिए ,पाएकै थिए । तर सुधाका निम्ति ती सौदा र उपहार आफ्नो सुदीप मात्रै आइदिएको भए नत्र उसको खबर मात्रै भए पनि पर्याप्त हुने थियो ।उसको दुर्भाग्य अहिलेसम्म केही खबर सम्म पनि छैन । सुधाले आफ्नो चोखो अङ्गालो र पतिप्रतिको पवित्र प्रेममात्र साँचेकी छ र सुदीपलाई त्यही सुम्पन पाए ऊ खुसी पनि हुन्छे । परदेशीका लागि भनेर सुधाले अरु केही तयार गर्न पनि सकेकी छैन ।
छिमेकका परदेशीहरु आएको देख्दा सुधाको मन भत्भती पोल्न थाल्यो । पींडीमा बसेर दिनभरि सुदीपको बाटो हेर्दा पनि केही नलागेर झोक्रिएकी ऊ किन किन साँझपख आफ्नो पहुँचभन्दा बाहिरका शब्दहरु गुन्गुनाउन थाली । त्यसभन्दा अघि उसले यसरी कहिल्यै गुन्गुनाएको कसैलाई थाहा थिएन तर त्यस दिन सुधा अर्धचेतन मुद्रामा पीडीमा बसेर यसरी गुन्गुनाउन थाली ः–
परदेश जाने हे स्वमी राजा ! फर्केर आइदेउन ,
पर्खेर बस्छु नआए पनि खबर लाइदेउन ।
सिउँदोमा सिन्दुर तिलहरी पोते तिम्रै छ लाएको ,
बिस्र्यौकी खसम छुट्दैनौ भनी कसम खाएको ।
फर्कनछु चाँडै भनेर गयौ धेरै भो हिंडेको ,
फर्केनौ अझै हेर्दिछु बाटो देख्दिन फिरेको ।
खोजेर तिमीलाई हेर्दैछ कति आँगन र पँधेरो ,
शिरको स्वामी परदेशी भयौ घर भयो अँधेरो ।
छिमेकी गाउँले फर्कंदा पनि क्यै खबर लाएनौ ,
आउँछौकी भनी हेर्दिछु बाटो फर्केर आएनौ ।
टुहुरी एक्ली झुप्रामा बास खै मेरो सहारा ,
सम्झेर चाँडै फर्केर आउन हे मेरो पियारा ।
आफ्नो गुन्गुनाइले झुप्रो गुञ्जँदा गुञ्जँदै ऊ पीडीमा नै भुसुक्कै निदाइछ । त्यस छाकको समेत उसलाई पर्बाह भएन । साँझपख गाउँमा केटाकेटीको खैलाबैला भए पनि एकैछिनमा गाउँ शान्त भयो । सुधा एक्ली छ भन्ने दुनियाँलाई थाहा हुँदाहुँदै पनि त्यस दिन भने ऊ के गर्दैछ भनेर कसैले चियो चर्चोसम्म गरेन । छिमेकमा प्राय परदेशी आएको उल्लास नै थियो तर सुधा भने बेखुसीका बिस्कुनहरु पीडीमा लाएर खसमको बाटो नियाल्दै निदाउन पुगेकीले त्यस रातलाई उसले पीडीमा नै गुजारी ।
“ए मिट्ठु ! ए गुइँठे ! गैरी बारीको छेउमा को हो हँ ?हेर हेर ,उँभै पो आउँदैछ जस्तो देख्छु, होइन ?” हिजो मात्रै परदेशबाट आएको पल्लाघरे जुठेले आफ्ना छोराहरुलाई भन्यो । खिदिमको डाँडाबाट भर्खर सूर्यले खुट्टा त्यता फ्याँकेकाले गाउँ टाटेपाटे मात्रै भएको थियो । गाउँमाथिको एक पसर आकाशमा पाटे बाघको भद्र हिंडाइजस्तै बादलको लुम्साहरु हिंड्दै थिए । नियास्रो जीवनको निराहार अवस्थाले गर्दा सकी नसकी लोलो पोतो गर्दै रहेकी सुधाले पनि नजर त्यतै फ्याँकी । त्यो मानिस सरासर गैरी घरमा नै आइपुग्यो र सोध्यो “ सुदीपको घर कुन हो दिदी ? ” शङ्का र भयले शशङ्कित आँखा त्यतै लाउँदै सुधाले उत्तर दिई “यही हो ।” आगन्तुकले फेरि सोध्यो “सुधा नाम गरेको चाहिं को हुनुहुन्छ ? ” “ सुधा नाम त मेरो नै हो , खै यस गाउँम सुधा नाम गरेको अरु त कोही पनि भए जस्तो लाग्दैन ” सुधा भन्दै गई “ मेरै खसमको नाम पनि लिनु भो र मेरो पनि ,खै मलाई त देखे चिने जस्तो पनि लागेन । कहाँबाट आउनु भएको होला ? ” सुधाका यतिका कुराका पछि फेरि आगन्तुकले सोध्यो “ ए .! उसो भए तपाइँका पति सुदीप रहेछन् ,होइन त ? ” स्वीकारोक्तीमा सुधाले मुण्टो हल्लाइदिई र नम्र भावमा भन्दै गई “ हजूर ! बस्नोस् न ! ” खोसेलाको पीरा दिंदै सुधाले भनी ।सुधाको आग्रह अनुसार नै आगन्तुक बस्यो र कुरा उठायो “दिदी ! तपाइँको पति परदेशतिर जानुभएको रहेछ ,हैन त ? घरबाट हिंडेको कति भयो कुन्नी ? खर्चबर्च लाउलान् फर्केर आउलान् भनेर बाटो हेरिरहनु भएको थियो होला ! तर खै .....ऽ....,” विश्मयसाथ ऊ बीचैमा रोकियो । “ तर ,तर के ? हैन तपाइँ कहाँबाट के खबर लिएर आउनु भएको हो ? कि तपाइँ के भन्न खोज्दै हुनुहुन्छ ? ” आतेशमा सुधाले सोधी । उसको आङ्ग सिरिङ्ग भएर आयो ,शरीरभरि काँडा उम्रिए ,भय र शङ्काको प्रलय भयो उसमा ।आफैंलाई कतै केहीले थिचेको छ कि जस्तो लाग्यो । आँखाबाट फोहोरा छुट्न थाले ,अत्तालिंदै कराउन थाली –“ए मिट्ठु ..ऽ...मिट्ठु ..ऽ ” “हजूर ..ऽ..के भयो काकी ?,किन वोलाएको ? ” मिट्ठुको वोली टुङ्गिन नपाउँदै भनी “याँ आइज न ...! ” वोलीभन्दा रुवाइको कोकोहोलो ठूलो भइसकेको थियो । मिट्ठु हतार हतार आएर सोध्यो “ के भयो काकी ? किन यसरी रुनु भएको ?”आगन्तुक पट्टि हेरेर मिट्ठु ट्वाल्ल प¥यो ।सुधासङ्ग आफू किन रोइरहिछ त्यो भन्ने साहससम्म थिएन न त कारण नै थियो ।
वल्लापल्ला घर ,छरछिमेकका सबै जम्मा भए । विचरा ! आगन्तुक आफैंले पो के के न गरेर यस्तो हुनगयो भन्लान् भन्ने आपदमा प¥यो ।अदना आइमाई मात्र भएको घर ,आएर कुरा उठाउँदा नै रुवाबासी , सबैका सामू नै ऊ भन्न थाल्यो “त्यस्तो केही भएको होइन , पीर मानेर रुनु पर्ने नै कारण पनि केही छैन । म पनि परदेशबाटै चार दिन अघि सुदीपसङ्ग छुटेर आएको हुँ । मेरो घर त ओखरबोटे गैरी गाउँ हो ।गहते बारीको धनबीर मगरको छोरो हुँ । म पनि दुईचार पैसा होलाकी भनेर परदेशतिरै गएको थिएँ । काम खोजदै जाँदा सुदीप र म एउटै मालिककहाँ काम गर्न पुगेछौं ।उहीं नै हाम्रो चिनापर्ची भयो । आपसमा एकअर्काका सुखदुःख पोखापोख ग¥यौं अनि मात्रै पो थाहा भयो स्वदेशी वान्धव नै पो आखिरमा पनि चाहिने रहेछ भनेर । परदेशको ठाउँ , मालिकको कचकच पनि मनग्यै हुने ,आँखामा झल्झली जहान परिवारको छायाँ , बाटाखर्चसम्म भए पनि चटक्कै छोडेर हिंडौंजस्तो लाग्ने तर के गर्नु आफ्नो कमाइले त हातमुख जोर्न पनि धौ धौ हुने , दुःखाइपीराइ उत्तिकै ,औषधी केले गर्नु ?यसपालि पनि मालिकले नै खर्च हालेर पठाए ,सुदीपका घरमा पुगेर आइज भनेर ,आफ्नो घर जानसम्म भ्याएको छैन ,फेरि चाँडै फर्कनु पनि छ । सुदीपले चिट्ठी पनि लेखेको छ ,मालिकको मुखैको खबर पनि छ र आएको हुँ ,ल लिनुहोस् दिदी चिट्ठी ” भन्दै सुधाकै हातमा चिट्ठी पनि थमाइदियो ।
खसमको चिट्ठी हातमै भए पनि निरक्षरी सुधालाई के गर्नु र? “ आ..ऽ..चिट्ठीले पो के गर्नु र ? बरु शिरको स्वमी आपैंm आइदिएको भए ..! धनले त कसलाई पो पुगेको छ र ? रातदिन सम्झना , मनमा पीर ,गुयाँलाका ठुटामा काग बसेर कराउँदा पनि आङ्ग जिरिङ्ग हुन्छ ,मुटुको ढुकढुकी बढ्छ , बैशको बलजति विदेशलाई सुम्पिएर सुसुपाल भएर कुनदिन फर्कने हुन् ? छि..! यो परदेश पनि । ए मिट्ठु ! तैं पढिहेर त ,के लेखेको रहेछ तेरा काकाले ?” भन्दै मिट्ठुलाई चिट्ठी दिई सुधाले । विचरा ! मिट्ठु पनि फररर पढ्न सक्ने त कहाँ हो र ? अक्मकिंदै चिट्ठी सुनाउन थाल्यो ।
‘प्राण प्यारी सुधा ! म तिम्रो सिउँदो पुरेको स्वामी सुदीपको धेरै धेरै सम्झना ! झल्को तिमीलाई भन्दा कम त मलाई आउने होइन ,तर के गर्नु ..होलाकी भनेर आएँ ,आएर केही दिन त यसो नून भुटुन र एकसरोसम्म टार्न सकिएलाकी भनेर काम खोज्दा खोज्दै बित्यो , काम त पाइयो तर दुई चार पैसा खर्चसमेत चिट्ठी पठाउँला भन्ने आशाले केही दिन त मन अडेको थियो ।,अब त आफ्नो थातमा पाइलासम्म पार्न पाए हाइसञ्चो जस्तै भएको छ । धातीगुहारी पनि थातकै छर–छिमेक त हुँदारहेछन् नी । तिमीसङ्ग त कमाइजमाई लिएर आउला भन्ने आशाको डोरी खिरिलो भएको होला तर साँझ विहानका गाली र कच्कच्का मालिकका झिनाझाक्रा शब्द बाहेक केही कमाउन सकेको छैन । बाटाखर्चसम्म जमाउन सके भागेर भए पनि आउने थिएँहोला ..? जङ्गलको वास , छाक गनेर दिएको रासन ,मालिकको गोता , कामको बोझ , बाघभालुको डर , भोक न निन्द्रा ,घरको झल्को , बिग्रँदो स्वास्थ्य ,हाउ न भाउको जिन्दगी , परदेशको परिभाषा यसरी नै बुझ्दैछु । अबको आसा भनेको घिडघिडो प्राणसम्म त्यहाँ ल्याइपु¥याउने छ र तिम्रो पवित्र प्रेम मात्रै मसङ्ग बाँकी छ । कमाउने धुनमा जीवनभन्दा लामो सपना देखेर तिमीलाई एक्लै छाडी आएकोमा साह्रै पछुतो लागेको छ । सङ्गै बसेर दुःखका अञ्जुलीभरिका आँसुलाई आफ्नै आँगनमा बगाएको भए त त्यसैले सिंन्चेर पनि सानो तिनो सुख त्यहीं अङ्कुराउने थियो होला । उसिनाको गाँसभरि तिम्रो अनुहार झल्कँदा मन जसरी नै उड्न सके पहिल्यै आइसक्ने थिएँ ,तर के गर्नु बरु प्राण पवनमा फुस्स भएर जान सक्ला आउन नसकिने ।प..ऽ..रको देशमा छु , देश त आफ्नो नै चाहिने रहेछ । यो बाहेक पत्रवालाबाटै बुझेअनुसार छरछिमेकको सहारा लिई गर्नु , अरु प्राण भेट्यौ भने त्यसैवेला ...!
तिम्रो अनन्य
सुदीप
वायु सम्पन्नताको सजधजले सजिएको झुप्रामा अश्रुपातका थुङ्गाहरु हवाको गतिसङ्गै झर्नथाले ।अनाशक्तिको गान ,करुणाका कहानीहरु अश्रब्य रुपमा नै गुञ्जन थाले । नीतिका ठेलीहरु लठिभद्र लडेका होलान् परन्तु अनुराग नभेटी अपराग भेट्नु पर्ने, मानिस परिस्थितिको दास भएको छ । अभावको अन्त्य खोज्दा खोज्दै अप्रशन्नतामा करुणको मेघ मडारियो । आँसुका सितारा जडेकी सुधा नवोली नखाई लम्पसार भई । सुख नदेखी दुःख खेपेका थाप्लोमा हात परेहुन् तर नाम्लोका डोबसम्म ठम्याउन सकिन उसले । आजसम्म खुटखबर नै नआएको सुदीपको त्यो चिट्ठीको अर्थ खोज्नभन्दा आगन्तुकपट्टि नै सबैको ध्यान केन्द्रित भयो । आफ्नै कथाबाट आगन्तुकले कुराको उठान् लियो ।
”दुईबर्ष अघिमात्र म पनि दाम कमाउने आशाले कामको खोजीमा हिंडें । बूढी आमा र बैंशालु पत्नी घरमा छोडेर हिंडेपछि दुईचार दिन त गोरखपुरतिर हल्लनपुर हुँदै बिताएँ । भौंतारिंदै मणिपुरबाट इम्फाल पुगें ,त्यहीं नै सुदीप्सङ्ग भेट भयो । एकै ठाउँमा काम गर्न थाल्यौं । कहर कति खेपियो ..भनी साध्य छैन । गोतासास्ती त मनग्यै पाइन्थ्यो जबरजस्ती रुचाउँथ्यौं र होलाकी भन्ने आशाले पचाउँथ्यौं । आशैआशमा विदेशमा बन्धक परेछौं । एकमुट्ठी प्राण राख्नकै लागि पनि नूनको सोझो त गर्नै प¥यो । दुःखाइपिराइ कति हुन्थ्यो कसैले याद राख्नेसम्म होइन । सुदीप र म हामी दुईबाहेक हाम्रो भन्नु नै त्यहाँ को थियो र..? न रगतको नाता न स्वदेशको साइनो , हेर्दैमा डरलाग्दा धमरधुसहरु आउँथे÷जान्थे । हाम्रो जीउज्यानको होइन कामको रेखदेख हुन्थ्यो । रात बिरात भन्न नपाइने ,चोरीहट्टीमा जानुपथ्र्यो । तीन महिना अघिदेखि नै हो सुदीपलाई औलो ज्वरोले समात्यो । हेरचाह औषधी कसैले गर्ने होइन । मालिक आउँथ्यो काम भएन भन्थ्यो ,कराउँथ्यो । सकेसम्म त मैले साथीको उपचार गराएँ तर मेरो केही लागेन । अब त उसको अवस्था साह्रै नाजुक भएको छ । लिएर आउन कति जुक्ति निकालें तर सकिन ,म आफैंमात्र पनि आउन सक्ने अवस्था भएन ,अहिले चाहिं केही नलागेर मालिक आपैंmले “जा यसका घरमा भनिदे ,आएर लैजाऊन” भन्दै चारबीस सात रुपैयाँ मलाई बाटाखर्च दिएर पठाए । नमानौ भने पनि ज्यान जाने खतरा मानौ भने पनि साथीको त्यो गति , न त खर्च नै पुग्दो ..? आधा मासु हुँदै खर्चले पनि टुमटुम हुँदै पु¥याएर आएँ ।उता साथीको हविगत के भैसक्यो होला ..? चिन्ताले पीरोलिरहेछ ।आफ्नै ठाउँमा ल्याइपु¥याउन सके यत्तिका दाजुभाइले कसो हेरिछाड्लान् त ? मालिकले त बिदा मात्र दिन्छ ,अरु आफैंले आँटेर जसरी भए पनि सुदीपलाई यहीं ल्याऊँ ।”
आनासुका सरसापट जुटाएरै भए पनि गाउँलेको एक जत्था सुदीपलाई लिन परदेशियो सुदीप भएकै ठाउँमा पुग्यो पनि । अन्धधन्दको भुङ्ग्रे ज्वरोले इन्तु न चिन्तु सुदीपले केही थाहा पाएन । गाउँलेले लिएर आउन सुर कसे । अखच्र्याइँदो पाराले “क्या अधम आद्मी फेला परेछ ,यस हरामीले गर्दा यहाँ कत्रो घाटा भइसक्यो , कामलाग्ने त होइन तैपनि सीनोसम्म त पु¥याउँछौ होला ,लैजाओ ” भन्दै विदा दियो ।
बाटो लागेको चारदिन पछिमात्र सुदीप्लाई आफ्नो घरमा ल्याइपु¥याए । थोत्रो तन्दाको डोलीमा आफ्नो खसमलाई टीठलाग्दो अनुहारमा देख्दा सुधाका आँखाबाट शालिग्राम कुँदेर गङ्गा बग्नथाले । पहिलेको झमकलाग्दो सुदीप चाउरिएर पहेंलिएको थियो । शरीरमा कतै रगतको निशानासम्म नभए झैं देखिन्थ्यो ।
सुदीप्लाई पींडीमा राखेको थियो । उठेर बस्न सक्दैनथ्यो । मूढो झैं लडेको सुदीपले आफ्नी सुधालाई हे¥यो ,चारैतिर नजर घुमायो , आँखा रसाएर आए , आँखा चिम्म गरेर कटटट दाह्रा किट्यो ,पुलुक्क आँखा उघा¥यो “सुधा..!परदेशमा गएर घिडघिडो कमाएको थिएँ , तिम्रो काखमा संसार हेरीहेरी प्राण सुम्पन पाएँ ,बाचुञ्जेलको ताकत परदेशले चुसे पनि आफ्नै हातले बन्धुबान्धवको काखमा तिमीलाई सुम्पन पाएँ , थातमा आएर प्राण जाने भयो ,मेरो घिडघिडो पूरा भयो । लोभलालचमा परदेशमा पोख्ने पसिना आफ्नै देशमा पोखे है !.मैले बाटो पाएँ अ..ऽ...ब...”सुदीपको वोली हरायो , शरीरु थरर काम्यो ,अनि आपूmले पहिलो चोटि आँखा खोलेको गाउँमा सदाका लागि उसले आँखा चिम्लियो । सुधाका लागि फेरि परदेशी र परदेश कहिल्यै नदेखिने सपना भए, सिन्दुर, पोते, चुरा र साथका ऐभात जीवनका नपुरिने रहर भए ।
No comments:
Post a Comment