बैशाखको महिना, गर्मी उधुम बढेको थियो । ऋतुराज वसन्तको बर्णन सुनेर मात्र मनमा शीतल हुँदो हो, बाटोघाटो सब धुलाम्मे । त...ऽ....ल एक तमासले सुसाउने तमोर नदी पनि बटौले किनारको बैंशका अघि निरीह भै च्यापिएको थियो सानो डोरोझैं भएर । पतझडमा पालुवा पलाउन वियाँलो गरिरहेको थियो खडेरीको चपेटाले । सदावहार सल्लेरी वन काइँयो केस्रा सुसाए पनि भुइँभरि असरल्लभै सुकेका सल्लाका पातमा उराठसिवाय चिस्यानको छनकसम्म पाइन्नथ्यो । सल्लेरीको सुस्केरा सँधै सुन्न पाउनु पनि जीवनको कुनै अध्यायका फेहरिस्ता बनेको थियो उसबेला र नजिकै थियो मेरो सौहार्द आश्रम धनकुटा क्याम्पसको भानु पुरुष छात्राबास । झण्डै २ दर्जन जति विद्यार्थी, पथप्रदर्शक वरेण्य केही गुरुहरू र सेवाप्रदायक सहयोगी कर्मचारीहरू ।
‘चाहाना भए बाहाना कति’ । सल्लेरीबाट दक्षिण पश्चिमको शालीन गाउँबस्तीको दृष्यले कसरी खिच्यो कुन्नी मलाई, बेलुकी सूर्यास्त र गोधुली बीचको समयमा म टहलिन्थे त्यतैतिर । उनले मलाई कहिलेदेखि चियो गरेकी रहिछन् तर म भने बेखबर ! उनको नाम ‘मुना’ मैले कुनै सन्दर्भमा सुनेको पनि थियो । सानो मताने घरको पूर्वाेत्तरको कोठेबारीमा यसबेला सँधै नै प्राय हुन्थिन् उनी, मैले पनि नदेखेको होइन तर नियालेको रहेनछु । बोलीचालीको सामान्य आवाजले छिचोल्न सक्ने दुरीसम्म जुटेर पनि विना संवाद छुटेका थियौ. हामी धेरै पटक । त्यस दिन उनले बोलाइन् त के भनौ अड्को लाइन् “हाम्रो कोठातिर आउन हुँदैन र दाजु ?” म क्याम्पसमा पढ्ने विद्यार्थी, बेलाबखतको वाकपटुताले २०÷५० साथीहरूका बिचमा आफ्नो स्थानलाई जोगाएर बसेको, उमेरले युवा । उनीसँगको यो भेट नै पहिलो नभए पनि एकार्काप्रति लक्षित संवादको भने यो नै पहिलो अवस्था थियो । क्यामपसमा उनीसँग देखादेख धेरैचोटी भए पनि हेराहेर हामीले कहिल्यै गरेका थिएनौ । त्यसैले यो संयोग पनि सन्देहमुक्त बनाउन मनमा हम्मे प¥यो । “मैले त्यस्तो कहाँ मानेको छु र !” भनी प्रतिप्रश्नसहित हामीबिचको भौतिक दुरीलाई खुम्च्याउँदै लगेको थिएँ मैले । गर्भमै रहेको भु्रणको जन्मको घडीपला निर्धारण गरेर कुण्डली बनाउन सक्ने पद्धति र प्रविधि रहेको यस दुनियाँसामू आशङ्काले मन हुँडलिईरहे पनि म उनको अड्को फुकाउनकै लागि पुगेंको थिएँ तर त्यो घर पनि उनको भने थिएन कुनै सर्तले केही समयका लागि लिएको आश्रयस्थल डेरामात्र थियोे त्यो ।
”बस्नु न दाजु !” कोठाभित्रै जान सङ्केत गर्दै उनले भनिन् । सहृदयी सखीको भावनाअनुकुल मेरै स्वागतार्थ तयार रहेझैं थिइन उनकी साथी । खाटको तन्दालाईए मिलाएर उनले सहजीकरण गरेकी थिईन् बस्नका लागि । औसतभन्दा कम सहुलियत रहेको कोठा, एक कुनामा सानो पिर्कामाथि राखिएको स्टोभ चुलो र केही भाँडाकुडा÷थालकचौरा । खाटको एक छेउमा उनकी साथ बसे पनि मेरो बसाई न त बीच न त अर्को छेउ भएछ जता बसे पनि मेरो शरीरसँग स्पर्श हुने हुँदा उनलाई बस्न सकस भएर ढोकानेरै उभिइरहिन् । उनको असहजताको अनुमान गरेर म अलिकति बीचभाग तिर सरेपछि अर्काे छेउमा उनी बसिन् । मलाई थाहा थिएन उनले मेरा दिचर्यालाई नियालिरहेको कुरा । त्यो बेला उनले विनित भावमा भनिन् “ दाजु ! छिन्ताङतिर जाँदा हाम्रो घरमा पनि कसैगरी निस्किनुहोला है !”
मनमनै सोचेँ मन बहलाउनका लागि मैले गर्ने निजी यात्राप्रतिको उनले राखेको पूर्व जानकारी र गरेको आग्रहबीच के सम्बन्ध छ ? कुनै दिन साथीहरूबीच मैले बनाएको नितान्त निजी यात्राको शव्द संकेत मात्र गरेको थिएँ उनको गाउँबस्तीसम्म पुग्ने भनेर, उनले त्यसको हेक्का राखिछन् । “समयअनुकुल भएछ भने अवश्य पुगौंला” भन्दै उनको गाउँबस्तीको हुलिया लिएको थिएँ त्यस दिन । उनको निम्तालाई स्वीकारेर मैले बरण गरेको त्यस आतिथ्यताप्रति उनका हृदयको सत्कारसमान चिया बनाएर खान दिएकी थिइन् त्यसबेला ।
छिन्ताङ तिरको यात्राको दिन आयो । दैनिकी पनि फेरियो । सँधैभन्दा २ घण्टा अघि नै खाना खाएर हामी ३ जनाले बसयात्राबाट आरम्भ ग¥यौ. अबको दैनन्दिकी । साथमा थियौं साथी रामचन्द्र दाहाल, गोपाल खनाल । उमेमा म मझौला भए पनि अगुवाइको भूमिका मलाई नै सुम्पनु भएको थियो साथी रामचन्द्रले । नाता र उमेर दुबैमा भाइ हुनाले गोपालको त मैले अभिभावकत्व पनि लिनु थियो । विहान १० बज्न नपाउँदै हिले बजारमा पुगेका हामी केहीबेर टहलिएर पैदल यात्रामा मोडियौं दषिणतर्फ । शिखरिलो शितल बतासका जति झोक्का आए पनि गर्माएको शरीरबाट तप्पतप्प पसिना तप्काउँदै छारोको छेकारो भित्रै पैताला बजारेर उत्तरपानी पुग्दा कम्मरसम्मको परिधान बेपर्वाहले अनौठो भइसकेको थियो । हामीलाई देख्नासाथ आफ्नो मुसमुन्द्रे हाँसोलाई मुजेत्रोको फेरोले छोप्दै पोखरेल्नी भाउजुले पाल्छी पाराले भनिन् “हाम्रो तिरको पाउडर त पैसै नतिरी पो यति मज्जाले लाएर आउनु भएछ भाइहरू !” उनको पाल्छीपनाभित्रै कति अपनत्व पनि थियो त्यै बोलीमा । त्यसभन्दा अघि पनि कति पटक म त्यहाँ पुग्दा यसरी नै सौहार्द पाल्छी बोल्थिन् पोखरेलनी भाउजू ।
दिन मैमत्त बनेर ठिङ्ङ उभिएर होला आफ्नो छाञा पनि पैतालाको वरिपरिमात्र बेरिन्थ्यो । मेलापात जानेहरूका लागि दोपहरेको बेला नभए पनि हाम्रो फेरिएको दैनिकीले प्रात भोजन समयसँग बिच्छेद भएको ४ घण्टाभन्दा बढी नै भै सकेको थियो । हिंड्ने बाटो अझै बाँकी नै रहेको र अघि जाँदा बाटामा पाइने सुविधाका बारेको बोधाभावका कारण केही खाएर हिड्नु थियो त्यहाँबाट । भाइ गोपालले पोखरेल्नी भाउजूलाई भने “ खाजा खान पाइन्छ भाउजू ?” रसिक स्वभावकी पोखरेल्नी भाउजूसँग यसअघि पनि कति पटक त्यहाँ भेट भएको थियो मेरो । हाँसीमजाकमा बोले पनि हार्दिकता हुन्थ्यो उनको बोलाइमा र अपनत्व हुन्थ्यो मिजासमा । ठट्टैमा फेरि भनिन् “ यो त परणामी बाहुनको हुटेल हो, दही, दूध, तरकारी, चिउरा हो भने खान पाइन्छ, खाजा नै खाने भए त उता चुङ्माङतिर जानुपर्छ, मतवाली बस्तीमा घरैपिच्छे पाइन्छ !” गोपाल भाइ एकचोटी खित्का छाडेर हाँसे फेरि के लाग्यो कुन्नी अनुहार रातो भयो लाजले । खाजा भनेको त जाँड पो ठहर्दो रहेछ त्यतातिर । साथी रामचन्द्रले एउटा श्लोक जुटाउनुभो त्यतिबेला—
‘यात्रा र युद्ध,विपद औ अशक्त,
बाँधेर आत्मा नहूँ अनुरक्त,
हेरेर मौका लिन जान्नु पर्छ,
उत्तम उपाय यही नै ठहर्छ ।’
खाजाको गुढार्थले रङ्मगाए पनि साथी रामचन्द्रको रोजाइमा दही चिउरा खाएर हिसाब मिलाउन पोखरेल्नी भाउजूलार्इृ पैसा दिँदै छिन्ताङ जाने बाटो कस्तो छ र कति समयमा पुगिएला ? भन्दै सोध्दा “ ए..ऽ..यतिको बैंशबर्कता मान्छे, बेरै लागदैन नी” भन्दै मेरा हातमा फिर्ता पैसा दिँदा उनको हत्केलाले च्याप्प मेरो हत्केला कसेर आँखाले अमुक भाषा बोलेकी थिइन् अनौठो स्निग्ध प्रेम । हृदयद्वारबाट निस्केर केही त्यतै छाडिएको भान मेरै मनमा मात्र भए पनि हामी रवाना भयौ छिन्ताङ यात्राका लागि ।
घोडेटोका रूपमा मात्र बनैको धुलौटे बाटो , अधिकांश ठाउँ भिरालो थियो । दुई घण्टाभन्दा बढीको अविश्रानत हिँडाइ पछि हामी छिन्ताङकाण्डका १६ जना सहिदहरूको स्मृतिमा बनेको डाँडा चौतारो, शव्द चित्रमा नअटाएको एउटा दस्तावेज भए पनि फुङ्ङ उडेको धुलौटे ठाउँमा हामी पुग्यौं । साम्नेमा पातालघारीको वन हरियो देखिए पनि काखको चहुरमा पिपिरा पन्पिएका थिएनन् । छेउछाउमा शोभा÷सुन्दरता अवाक भएका सेता फुस्रा झाडी र बुट्यान मात्र । पूर्वको पाटो प..ऽ..र खोलापारीको जङ्गलका बीचमा सेती ढुङ्गा मधुरो प्रकाश फर्काएर उसबेलाको १४ बर्षे किशोर केशरमान राईका सपना पोतिएको घुर्मैलो छाञा सन्नाटामा मिसाएर घोत्लिएझैं लाग्थ्यो । संयोग पनि कस्तो ....! सहिद स्मारक चौताराको दक्षिणतिरको सिंडीमा खेतबारीकै कामधन्दामा पर्मापात गरी आएर थकाई मार्न शरीर बिसाएकी एकजना दिदी, मैलो पोथाङले टाउमा फेटा कसेकी, थोत्रो÷मैला रातोमा छिटको बुट्टा भएको गुन्यु, रातै चोलो लाएर बसेकी थिइन् । शव्दले खोतलेर अधनालाई इतिहासले हिर्काउने मन त मेरो थिएन तर इतिहासको सिङ्गो अध्यायको पावन भूमिमा पैदल पदार्पण गर्न पुगेको त्यस पल स्थानीयको अनुभव सुनौ कि भन्ने लागेर उनलाई सोधेको थिएँ, “ दिदी ! पहिले सरकारले छिन्ताङमा मान्छे मा¥यो भन्थे नी, थाहा पाउनु हुन्छ ?” शुरुमा त सहजै भनेकी थिइन् “ किन नपाउनु र .., नानी, सप्पै थाहा छ नि तर भनेर के गर्नु ? पहिले कति दिनदेखि गाउँको मान्छेहरू पुलिसले समातेर माथि चुङमाङमा लगेर रातरातभर सुँगुरको खोरमा थुन्ने र कति कुट्ने पनि गर्थेछ । पछि त फेरि लौ घरघर जाओ भनी साँझमा सबैलाई छाडी पठाएछ । मेरै सन्तेको वाउ पनि बेलुकी साँ..ऽ..झमा आइपुगेको थियो । फेरि आधारात पनि बित्नु नपाई पुलिसहरू आएर गङ्गाराम तिमीसँग एकछिन वात मार्नु छ हिँड जौ.भन्दै सँगै सुतेको ठाउँबाट उठाएर लग्यो । खै के जान्यो जान्यो उसले त्यो बेला, पिंडीबाट आँगनमा ओर्लने बेलामा ‘लु म फर्की आइन भने पनि धेरै पीर नगरी नानीहरू ख्याल राखेर हुर्काउनु है !’ भन्दै पुलिससँगै हिंडिहाल्यो , मन त सारै ढुकढुक मात्र गरिराको थियो, विहान उज्यालो पनि हुन नपाउँदै ठूठूलो बन्दुक पड्किएको सुने । मान्छे मा¥यो है भनेर गाउँभरि हल्ला भयो, डराईडराई हेर्न आएँ, उ.... त्यही जङ्गलको उँधो तिरको चहुरमा कति मान्छे मारेर पुलिसले घेरिराखेको थियो । अरु त भन्न पनि सक्दिन नानी नसोध ....” भनिन् र आँखा एकपटक झपक्क परेली डील जुझाउँदा बररर आँसु झारिन् । पीडाका घाउले चह¥याएको निन्याउरो अनुहार पोथाङले पुछिन् । आँखा ओभाउन बल गर्दा नाकका दुबै द्वारहरू सानाठूला सानाठूला भईरहे केहीबेर । गङ्गारामकी सहचारीणी रहिछन् उनी । जानेर भए त उनैलाई चह¥याउने त्यो अतीत सोध्ने पनि थिइँन होला ।
समयले अस्ताचलतिरको यात्रा धेरै जितीसकेको थियो । हामी छिन्ताङकी देवीको देवीस्थानको बाहिरी भित्तो मात्र हेरेर साँझपख छिन्ताङका जिउँदा सहित भक्त वोलानाको घरमा आश्रय लिन पुग्यौं । उनले त्यस बेलुकी अबेरसम्ममा छिन्ताङ काण्डको फेहरिस्ता र आफू बाँचेको कैरनसमेत भन्दै गोपाल गुरागाईँ तमोरमा हेलिएको, सुत्केरी महिला हाँखिमा राई र ७२ बर्षे बृद्ध लाखमान राईको निरीहतामाथि बाजी मार्ने सरकारको तमासाको पनि खेदो सुनाएका थिए । जीवन भन्नु अनुभवको पुञ्ज र अनुमानको आरेख पनि हुँदो रहेछ । आशाका वियाडमा परेड खेलेका कथाहरू घटनामा रूपान्तरित हुँदाका रहस्यहरू धेरै सुनेका थियौं त्यस दिन ।
अर्को दिन पूजारीले बसाएको नियम र हाम्रो चाहानाबीच मेल नहूँदा पुनः छिन्ताङ देवीको मुर्ति मन्दिरको दर्शनको रहर जवरजस्त मात्रै पुरा गरेर चित्त बुझायौं ।
छिन्ताङबाट सफाइधापतिर जाने बाटो भिरालेभन्दा ओरालो बढी थियो । खडेरीको धूपले रातोमाटो धूलाम्मे, बाटा किनारका रुख बुट्यानहरूमा हाँगामाथिका पात हरिया भए पनि धुलोले रङ्गिएका । भुइँभरि पत्करको छिरलो । चराचुरुङ्गीका चालमा पनि सुकेका पातहरूको कोलाहल । प्राय गाउँबस्ती भएर पनि मरुद्यानको लेससम्म नदेखिने, सबैतिर धुलोको साम्राज्य, हाम्रा लागि विल्कुलै नयाँ ठाउँ र परिवेश थियो त्यो । धुलोले लिएको हुर्मत सहेर भए पनि जीवनका अनुभवका राज्यमा कित्ता थप्दै थियौं पलपलमा हामी । बाँसको टेकोमा उनेर माथिबाटे टाङ्दै लगेको तार झैं देखिन्थ्यो खाने पानीका लागि टाँगिएको आधा इन्चको कालो पोलिथिन पाइप । सायद पानी नबगेर मात्र सुरक्षित थियो होला नत्र त त्यस्तो काकाकुल बस्तीमा तिर्खा मेटाउन कतै पनि विच्छेद हुन÷टुक्रन सक्थ्यो ।
हामी सफाइ धापको केही समथरिलो भूभागमा ओर्लिसकेका थियौं । त...ऽ..ल बगरको साम्राज्यमा शरणार्थीझैं भएर शान्त बग्दै थियो साँगुरिएर निलो नदी तमोर । सहरबाट आएका हामी दूरदराज गाउँमा आफ्नो सभ्यतालाई जोगाउन सफा÷सिनिक्क हुनुपथ्र्याे तर समस्याको माउ नै पानी भएकाले लाचार भयौं र छारो टकटकाएर सहरको सभ्यता जोगाउने प्रयत्न ग¥यौं ।
दिन ढल्कँदै गए पनि बेंसीको फाँट उखुम गर्मी थियो । त..ल सुनसान बग्ने तमोरको निलो लहर देख्दा आँखामा शितलता रमाए पनि शरीरबाट रसाएका पसिनाका रहसँग लाडिएको धुलोले गला, पाखुरा र अनुहारमासमेत लेघ्रा पारेको थियो । उही प्रकृति र परिवेशसँग पौंठेजोरी खेलेका स्थानीय अनुहारभन्दा आपूmलाई पृथक बनाउन हम्मे नै थियो हामीलाई । माटो आफैंमा बन्जर नभए पनि जलाभावका कारण बेंसीको उर्बरता पनि उपहास भएझैं प्रतीत हुन्थ्यो त्यहाँ र पाटा र गराको रूप थिगरिन नसकेर दम्स्याइलो पाखो बनेको थियो धेरै ठाउँ । दिनको ४ बज्न लागेको थियो हामी विद्यालयको समिपमा पुग्यौं । छुट्टीको घण्टी पर्खिएर ब्याकुल बनेका अबोध अनुहार पनि ब्यग्र थिए छुट्टी उत्सवका लागि । चिनेका भन्दा पनि सुनेका केही नाम खोज्यौं विद्यार्थीको त्यस भींडमा । केही भेटिए पनि , केहीको हुलिया लियौं ।त्यसबेला मेरो मानसपटलमा उही अनुहार चल्मलायो र त्यही कथन स्मृतिमा आयो —“दाजु ! हाम्रो गाउँतिर जाँदा त हाम्रो घरमा जसरी पनि निस्कनु होला है ! ” जुन भनाइलाई मैले सुनशानमा पनि कति पटक सम्झेको थिएँ, कथनसँगै हराएको थिएँ । त्यसैले कसैप्रति लक्षित नगरीकन नै सोधें “यही गाउँबाट धनकुटा गएर पढ्ने मुना पौडेललाई चिनेको छ कसैले ?” कति सहजै तर एकै पटक भिन्नभिन्न आवाज आए चिनेको छ... उ ..त्यही टाहारको घरकी दिदी ...! घर पनि देखाए उनीहरूले । समयावधि समाप्तिको ध्वनी टिनीनीनी बजेपछि हेर्दाहेर्दै छेलिए धेरै अनुहार हरू । खोजखबर धेरै गरेनन् पनि हामीलाई ।
टाहार बारी पूर्ण समतल नभई केही ढाल परेको थियो । माथिल्लो छेउमा दुईवटा छाप्रा, बाँसका खाँबा र खरको छानोले बनेका । रातो माटोको धुलो उस्तै बग्रेल्ती । २÷४ गाईबाख्रा घर वरिपरि । गाउँ बस्ती भएर पनि करेसाबारीको छनकसम्म छैन । आँगनको वरिपरि छरिएका परालका त्यान्द्रा एक पटक फुङ्ङ धुलो उडाएर सीला खोज्दैथे गाईबाच्छाहरू । टाहारको डीलमा हामी पुगदा दुई छाप्राका बीचमा देखिए एक पुरुष । हामी नजिकिंदै थियौं तर उनी सशंकित हुँदै हामीतिर हेर्दै र नजानिदो गरी कतै भागीजौ कि झैं गरेर घरबाट नेपथ्यतिर हेर्दै खै के भने कुन्नी ? घरभित्रबाट एक महिला पनि निस्किईन् । हामी नजिकै पुग्यौं । संस्कार र इज्जतलाई सुरुबुरु धान्ने गरी ती महिलाले लाएको गुन्युचोलीले पानीसँगको भेटघाट बिर्सिएको कति भएथ्यो कुन्नी कपडाको बास्तविक रङ्ग खुट्टिंदैथ्यो भने पुरुष त केवल एउटा मैलो जौहारीकोट भिरेर छाती÷पेटसम्म नै नाङ्गो । मैलो जनाइको त्यान्द्रो बायाँ काँधबाट दायाँतिर छड्के पारेर कम्मरसम्म पुगेको, मैलो अन्डरपइन्टले लाज ढाकेर अनुहारभरि त्रासद पोतिरहे । “मुनाको घर यही हो ?” मैले नै सोधेको थिएँ । त्यतिबेलै १०÷१२ बर्ष उमेरको अन्दाज गर्न सकिने एउटा भाइ घरभित्रबाट निस्कियो । तर कसैले पनि सहज जवाफ दिन आनाकानी गरिरहे । अघि स्कुलमा हूँदा त्यस भाइले हामीलाई देखेको भए पनि हामीले गरेको सोधखोजबारे उसलाई केही थाहा थिएन ।
यसबेला हामीले छत्रीवाला टोपी लाएका थियौें । त्यसमा कुनै ओहदाजनित सङ्केत वा व्यक्तिका लागि नभई घामबाट अनुहारलाई जोगाउने हाम्रा रोजाइका चिजमात्र थिए ती तर ती पुरुषले के ठाने कुन्नी त्रासपूर्ण तर मलिन स्वरमा बोले “कहाँबाट केका लागि आउनुभएको हो सरहरू? हामीबाट कुनै गल्ति भाको भए माफ पाऊँ हजूर !” भाइले अँध्यारो मुख पा¥यो, आमै आतेसले थरथराउँदै हडबडाउन थालिन र पिंडीमा गुन्द्री हालिन । आवाजले नसकेर इसाराले मात्र बस्नुस् भनेर सङ्केत गरिन् । न्यायको कठघरामा उभ्याइएका निरीह अभियुक्तझैं बने उनीहरू । अभियोग लागेर कठघरामा लैजानका लागि खटिई आएका सेना÷पुलिस नै ठानेछन् हामीलाई । त्यो त्रासको रहस्य त के थियो थाहा भएन तर सौहार्द संवाद गरियो । मुना र हामी एउटै क्याम्पसमा पढ्छौ, हामी यतातिर आउने थाहा पाएर उनले आफ्नो घरमा पनि निस्किदिनु है भनेकाले निस्केका मात्र हौं, आफ्नै छोरासरह ठाने पनि हुन्छ, केही शंका वा डर मान्नु पर्दैन भनेपछि सहारा पाएझैं लागेछ क्यारे तर आफ्नो आर्थिक बिपन्नताभन्दा पनि पानीको अभावका कारण दैनिकीमा संकट परेको विस्तार लाउँदै भने “आज त गाई, बाख्रा पनि खोला पुगेनन् क्यारे, पानी खान पनि पाएनन् । हामीले पनि विहान पानी नभएर भुटेका मकैले छाक टा¥यौं । अहिले भने खोला गएर भए पनि एक गाग्रो पानी ल्याएर भात पकाएर खानु छ, यतै बसौं है बाबु ! ” हार्दिता भन्दा पनि औपचारिकता बोले उनीहरूले । “ हैन, हामी अमृत सरकातिर जान्छौं उतै बस्छौ., दुःख गर्नु पर्दैन । आपूm सहज छाक टार्नु न ” भन्दै उनकै संकेतमा अमृत सरको घर ठह¥याएर त्यता लाग्यौं हामी । अमृत सरको नाम पहिले सुनेका र वहाँ त्यस गाउँमा भएको माध्यमिक स्कुलका प्रधानाध्यापक पनि हुनुहुन्थ्यो ।
अमृत सर त्यस ठाउँको शिक्षा विकासका धोहर जसले कुनै एउटा स्कुल हैन धेरै स्कुलहरूको नेतृत्व सम्हालेर निर्देशनको काममा आफूलाई पोख्त पारी सक्नु भएका व्यक्तित्व, शिक्षा अधिकारीको भूमिकामा ताप्लेजुङमा रहेकै बेला गाउँमा माध्यमिक विद्यालय चलाउन गाउँकै क्षमतावान मानिसको आवश्यक हुन्छ भन्ने गाउँसमाजको निर्णयअनुसार गाउँमै फर्की आएर विद्यालयका प्र. अ. बन्नुभएकाले त्यस गाउँसमाजका प्रेरक आदरणीय त हुनुहुनथयो नै आर्थिक रूपमा पनि दैनिकीलाई सहजीकरण गर्न समर्थवान हुनाले २÷४ नवआगन्तुकलाई पाहुनाका रूपमा आश्रय दिने व्यक्ति पनि त्यसैले हामी पनि वहाँले दिनु भएको आतिथ्यमा आनन्दले रह्यौं । बेलुकीको भोजनादि सकिएपछि एक प्रवुद्ध व्यक्तिसँग साक्षात्कार हुन पाएको खुसीमा उही छिन्ताङ काण्डको इतिश्री सुन्ने इच्छा हामीले राख्यौं ।
दलमाथिको पूर्ण प्रतिबन्धसहित शासनसत्ताको स्तुति गाउनुभन्दा वाहेक नागरिकका कुनै स्वतन्त्रताको आभाससम्म नभएको तत्कालको निरङ्कुश सत्ताबाट देश र दुनियाँको मुक्तिका लागि जीवन उत्सर्गको साहससाथ अघि बढ्ने योद्धका पनि सम्पर्कस्रोतझै. भई वौद्धिक चातुर्यले आपूmलाई शासनसत्ताको निशानाबाट जोगाउन सफल अमृत सरले २०३६ सालको छिन्ताङ काण्डको कहानी भन्दै बिद्रोहीहरूको सुरक्षित आधार इलाका भनेकै सफाइधापको कोवाङको पाखा र जङ्गल रहेको, शासकको सैन्य शक्तिले त्यस इलाकामा आक्रमण गर्न तम्सँदा बिद्रोही लडाकुहरू रुखरुखै हाम्फाल्दै हिंडेको देखेपछि पुलिस सेना नै डराएर यहाँ त गुरिल्ला तालिम लिएका लडाकु रहेछन् भनी डराएर फर्किएकाजस्ता इतिहासका ढुकढुकी घटनाहरू सुनाएर धेरै समय विताउनु भएको थियो । त्यसै घटनाका ला अघि अपह्रान्ह हामीसँग हच्कने बुढा बाले पनि सरकारी रवैया सहनु परेको र अहिले राजनीतिक वातावरण खुल्ला भए पनि छोरी मुना उही बिद्रोही समूहसँग सम्बद्ध रहेको विद्यार्थी संगठनको समपर्कमा रहेकाले अझै पनि कुनै अनिष्टको आशङ्काले त्रसित बन्ने गरेको इतिबृतान्त बोधसहित रात धेरै बितिसकेकाले तिथि मिति परिवर्तनको प्रक्रियामा विश्रामान्त भयौं ।
अर्को दिन सखारै घामको रापले भन्दा अघि नै पदचापले बाटो बिटुल्याएर तमोरको किनारै किनार मूलघाटतर्फ लाग्यौं । बाटामा कतै पानीसम्म पनि खान पाइएन । फाट्टफुट्ट घर भेटिए पनि निर्जन÷सुनसान । घाम चर्कँदै गएपछि तिर्खाले उत्पात हुँदा भैंसीको आहालमै मुख जोडेर पानी पिउँदा हामी आफैं आदिम युगका यायावरजस्तो अनुभूत भएथ्यो आधुनिक युगका हामीलाई पनि । उही धुलोको खप्पीले तृणमा भरिएको त्राससँग साक्षात्कार हुँदै साँझ आफ्नै आश्रय धनकुटा आइपुगेका थियौ. ।
मुनाले आफ्नो घरमा पुगिदिन गरेको आग्रह र मेरो मनमा मथिएका अनेक तरङ्गहरूको तादात्म्यता रहन सक्यो÷सकेन त्यो मेरा लागि अझै अज्ञात नै छ तर उसबेला क्याम्पसबाट विद्यार्थीलाई दिइने सहुलियत विद्याथीकै पहुँचमा पनि वितरण गरिने र म संबद्ध रहेको साङ्गठनिक निकायबाट पनि म आफैंले गरेकोे पहल अनुसार त्यस बर्ष मुनाले क्यामपसलाई बुझाउनु पर्ने मासिक शुल्क मिनाहका लागि सिफारिस गरी उनलाई निशुल्क अध्ययनको अवसर जुटाइदिएको थिएँ ।
अहिले २५ बर्ष भएछ, त्यो समय बितेको । उसबेलाको स्मृतिमा अडिएको घटनालाई लिपिबद्ध गरिरहेको यस घडीमा मुना कहाँँ छिन् ? उनका बाबाआमाको दैनिकी कसरी चल्दै होला र कहाँ के गर्दै होलान् ? उसबेलाको त्रासद मन अहिले शान्त भएको छ कि छैन ?ती धुलाम्य बस्ती र बन्जर पाखाहरूमा मरुद्यानको सह बर्षियो कि उस्तै होलान ? ती साहदात हुने सहिदका सपनाहरू झाङ्गिए कि झनै नाङ्गिए ? अनि मेरो हृदयमा अटाएका तिनै जीवन्त पात्र भक्त वोलाना, गङ्गारामकी सहचारिणी, अमृत सरको दैनिकी कसरी गुज्रँदै होला ? जिज्ञासामा आफैं मिसिईरहेछु यतिबेला ।
No comments:
Post a Comment