शंकर सुवेदी(उत्स)
विराटनगर —३
यसरी नै बहन्थ्यो चिसो सिरेटो
र म उठेर सखारै
सँधै जाने गरेको थिएँ उही पँधेरोमा
मुहान सोहोरेर आराधना गर्थे त्यही जलदेवताको
आफ्नो मुहार तैरन्थ्यो त्यै पानी छाञामा
जसरी अहिले देदिन्छ
भित्ता ढाकेर उभिएको ड्रेसिङटेबलको ऐनामा ।
निखुनी दुबोले अर्चाएर पानी
फु...द्र... मन्त्र भन्दै तितेपाती सुगन्धले
धेरैजनाकोे अदाहा फुक्थेँ हरेक दिन
रोगी आमाको पोथाङ यावो लिएर
पिनास झारिदेऊ भनी आइरहँदा उनी
वनदेवीलाई अक्षता चढाएर
पटुकी गाँठोको
एक टुक्रा कुड्की र पाखनवेदले
विमार काटेकै थियो उसबेला ।
साकेला नाचेर उँभोली÷उँधौली चाहार्ने
सुम्निमा र पारुहाङ्ग ढोग्दै
चढाएकै थिएँ मैले पूmल फलेदो
वासना भाकल बुझाएर
फल दिएकै हो मैले मदौरुलाई
जसरी दिइन्छ अहिले परशाद वा जुस ।
शिकारी डुल्ने बाटोका
छरेर सुनपाती भैरुङपाती
ओखरको बोटमा रख्खे ठोकेर
थन्क्याएको थिएँ लिसो पासो
भालेपाथी छुट्टिएका जोरजोरै कुखुरालाई
दलिदिएर सिउरमा सिन्दुर
झुल्के घाममै छाडिदिन्थे थानीको नाममा
बिजुवाले निशाना हानेको प्वाँखले जसरी नै
छेदन गरेकौ थिएँ मदौरुका दुव्र्यसनी लत
र वरपिपल छहारीमा धेरैबेर कथेको थिएँ्
विरामीलाई पुनर्जिवनको कथा ।
चैतारीमै कचहरी बसाएर
फेदाङ्माझै धेरैपटक बोलेकोे थिएँ
जुठो सुतकको फुकुवा
चारै सुरमा घुङ्ग्रीङ किला ठोकेर
प्रेत भगाएको थिए घरबाट
र बोक्सी बङ्गाराको छापाङ्कित
अम्लिसोको पात बिछ्याएर बाटोमा
रोकेकै थिएँ सबै व्यधीविपद उसबेला
जसरी अहिले रोक्ने गर्छ कङ्क्रिडको दिवाल ।
हरदिन गोवरले लिपेर मझेरी दलान
गौमुत्र छर्किएर चोख्याउँथे चौका
जसरी अहिले छिट्ने गर्छन् किटनासक बिषादी स्प्रे ।
चराहरू गुँड फर्किएपछि
वनको छेवैमा लगेर छाडिदिनथेँ वनदेवीको भाकल
र रोजरोजै साँझविहान बसून् चातौरीमा
वा डुलुन काननमा भन्थेँ प्राणवायु छान्नलाई
जसरी अहिले बस्नुपर्छ अस्पतालका सघन र आइ सि यु कक्षमा ।
त्यसैले
अहिले त युमारानीहरू पनि
आङमा चढ्नै छोडेको छ मेरो
घुङ्ग्रिन सेउलीले बाँध्न छोको छ थान
न चमर घण्टीको मान
न जामा पगरीको नाम
मेरा मुन्धुमहरू
विज्ञानको सरापले
सुकी हराएझैँ लाग्छ संझिँदाखेरी
म धामी भएका् बेला ।
No comments:
Post a Comment