Saturday, July 11, 2020

जीवन चक्रमा तीनजुरे पाथीभरा

    जीवन चक्रमा तीनजुरे पाथीभरा
                                                          शंकर सुवेदी ‘उत्स’
shankarsubediutsa@gmal.com

साधनसहित वा साधनरहित कुनै पनि तरहले कहीँ कतै घुमफिर÷विचरण गर्नु, डुल्नु, यात्रा हो । प्रायः उद्धेश्यसहितको प्रारूप बनेर वा गमेरमात्र यात्रा गरिन्छ । यद्यपि यही विचार र कार्य आफैंमा अपवादरहित र सिद्धहस्त भने नहुन पनि सक्छ । बिना पृष्ठभूमि र योजना पनि बाहाना र चाहानाको मेलले अप्रत्याशित झैं बन्दोे रहेछ जीवनको गति र यसैमा हठात तुनिदोरहेछ यात्रा बृतान्त ।
संभ्रान्त भएर पनि खोटीझंै लाग्छ हाम्रै परिवेशको प्रकृति ! बर्षाको समयमा बर्षादकै अभाव पाकृतिक सिद्धान्तमाथि प्रकुतिकै कटाक्षले केही दिनदेखि विराटनगरमा गर्मी अधिक हुन थालेपछि शितलताको आभास खोज्न एक दिनमात्र भए पनि विराटनगरभन्दा बाहिर जाने मौन सङ्कल्प भएका हामी तयार भयौं यात्राका लागि । वातावरणीय अनुकुलताभन्दा पनि यस गुल्जार घनाबस्तीबाट बाहिर कतै शितल अनुभव गर्न पाइएला कि भन्ने ठानेर मात्रै बिना योजना यात्रारम्भ ग¥यौं । यात्रा छोटो या लामो भन्नेमा संदिग्धताहीन अव्यक्त एकोन्मुखताबाटै सहमतीय दस्तावेजको परिकल्पना गरेर हामी पाँच जना हरि, गुणराज, सोमनाथ,  सुमन सहित दिउँसो दुई बजेपछि विराटनगर महानगरपालिकाको भौगोगोलिक सीमा उत्तरतर्फको प्रवेशद्वार ढाटबाट हामी बाहिरिएका थियौं ।
अनिश्चित गन्तव्यको अविराम यात्रामा लीन हामी साधनको आफैंमा पूर्णतामा हुनाले अरु कसैको यात्राको बेलिविस्तारसँग साइनो नजोडी धरान—विराटनगर राजमार्गका पूर्ववत सजिला अप्ठ्याराहरूको सामना गर्दै अघि बढ्यौं । इटहरीसम्मको यात्रामा बहस नै नगरी वसन्तपुर, तेह्रथुमलाई त्यस दिनको गन्तव्य ठह¥याएर तरहराको एउटा खाजाघरमा खाजा खाएर केहीबेर अघिसम्म भोगेको  गर्मी र थकानलाई आफ्ना अन्तष्करणबाट झिकेर त्यतै कतै थन्क्याएझैं गरी धरानतर्फ लाग्यौ । सेउतीको बगर सुनसान थियो । आफैं गएतर्फ जाने कति सवारीका बाहनहरूसँगको सम्पर्क र गति प्रायः नमिले पनि बिपरीत दिशाबाट आएका यात्राका बग्रेल्ती साधनसँग धेरै ठाउँ जम्काभेट हुँदै र बिच्छेदको दुरीलाई तन्काउँदै चारकोशे झाडीको  चिरेर गएको राजमार्ग माथिको वतासको वेगलाई पनि स्पर्श गर्दै र वनको हरियालीलाई चक्षुद्वारले सुम्सुम्याउँदै पार गरेर ब्यापारिक स्थलको ऐतिहासिक धरोहर धरान नगर÷सहर हुँदै कोशी राजमार्गकै उहापोहमा अल्झिएर घिसारी रह्यौं भेडेटार तर्फको उकालो यात्रा ।
धरान बजारसँग बिच्छेद हुनै नपाइदेखि आँखाभरि अल्झिन आइरहने विजयपुरका डाँडा वरिपरिको वन, स्मृतिमा बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरसमेत आइरहे । धरानकै घण्टाघर र त्यसैको पृष्ठभूमि झै देखिने बजार साम्नेमा हुँदा क्षितिजबाट टाढिँदै गएको कोशीको फैलावट, तुवाँलोसँग मिसिएको समथर तराइको मैदानसमेत नियाल्न पाइन्थ्यो । सर्दु खोला र बगरलाई छुँदै एक तमासले वहने हावा हामी चढ्दै गरेका घुम्तीसम्म सिरेटो बनेर आइपुग्थ्यो  । बुढापाकाहरूले कहिले उकाली कहिले ओराली भनेको चिउरीबास अब पखेरोमात्र आँखामा अटाउने भएको थियो । बाटोको कुनै निशाना पनि देखिंदैनथ्यो । साँगुरी पातलले गर्दा भन्ज्याङ्गभन्दा बढी हरियो डाँडोमात्र थियोे । बाटाकै किनार र वरपरका बटबृक्षका अनेक रूप पनि दृष्याननुभूति स्रेस्ता÷खेस्रा हुन्थे हाम्रा लागि । अन्तरसंवादमा अघिको गर्मीका जरुवा अनुभव बिसाउँदै गर्दा कति चाँडै पुगिएछ भेडेटार पनि । सानो बिसाउनीको शिखरिलो सहर भेडेटार क्षेत्रमा पदार्पण गरेको हाम्रो यात्रा नरोकिई लगातार अघि बढ्दा छेवैबाट भाँजियो बाटो । पूर्वोत्तर तर्फको राजारानी जाने बाटोसँग टाढिएर पश्चिमोत्तर बाटो ओरालो लाग्यौं हामी । अघिका सबै दृष्यहरू निखारिए आँखाबाट । समथर पटाङ्गिनीहरू त छेलिइसकेका थिए । अझै बाटाका घुम्तीले गर्दा पहाडका गरा, बाटाका थुम्की, बस्ती र सहर पनि एकैनासले देखिइरहेनन् अगाडि । कतै सुनसान झाडी÷जङ्गल, कतै पातला घरबस्ती कतै बाली भरिएका गराहरू साम्नेमा मात्र होइन दृष्टि हुत्याउन सके टा..ऽ..ढासम्म पनि स्पर्श रहन्थ्यो आँखाको । साँगुरी भञ्ज्याङ्ग माथि कतै छेलिएर अन्तष्करणमा कथामात्र अटाउँथ्यो । धारापानीको उकालोमा बाटाको अवशेषमात्र बाँकी थियो । लेउतिसँग हामी केहीबेर समानान्तर बग्दा बगर मुक बनीरिह्यो । बर्षैपिच्छे रौद्र रूप देखाउने खराने खोलाले अझै धैर्य गरेको रहेछ यसपालि, बाटामा पहिरोको थुप्रो थिएन । हामीले लेउतीपुल तरे पनि मूलघाटसम्म नै टाढिएन खोला । सजिलै मूलघाट÷तमोरको पुल तरेर विश्रान्ति धामलाई थोरै शव्दमा मात्र सम्झँदै उकालो लाग्यौं हामी ।
आठ पहरीयाको पातलो बस्ती भएको गाउँ साम्नेमा पर्ने गरी प्रकृतिको पहरालाई मानिसले बलजफ्ति बनाएको भन्ज्याङ्ग बेलाहाराको जाङबाट जन्मिएर जसरी फुत्त देखा पर्छन् गुठीटारको बाटोबाट थुप्रै यात्राका साधन । प..र बाखे्र खोलाले सीमाना तोकेपछि पारी टेकुनालाको उकालो बाटो पनि भरियाका पैतालाहरू बिर्सिएर उङ्दै बसेझैं देखिन्थ्यो । उसबेला सबैले थकाइ बिसाउने घुमाउने चौतारो बूढो हुँदै आँखामा तानिएर आयो । एवं रीतले हामी पनि हुत्तियौं आँखाले धनकुटा चुलीवनको हरियाली छाम्दै र पाइतालाबिहीन पदचापले पिरोलिइरह्यो गुठीटार, बेलाहरा हुँदै साविककै लोकमार्ग । समय घड्किन बेरै लाग्दो रहेनछ, अप््ठ्यारामा पनि आनन्दको आभास अर्कै मज्जा हुने । केही घुम्ती घुमेर बेलाहराको बेंसीबाट टाँगिएको बाटो आफ्ने गतिमा नापेरै पात्ले खोलाको घुम्ती  छिचोल्दै धनकुटा पुग्दा दिन ढल्किसकेको थियो । समय बर्षा कै भए पनि धरानबाट उकाले लागेपछि न झरी न घामको राप, शीतलकै सहारा लिन पाएका थियौं हामीले । धनकुटा बजारलाई पूर्व स्मृतिमा राखेर जिरो प्वइन्टबाटै हिलेतर्फ मोडियौ. हामी । बाटा किनारमा देखिने दृष्य परिचय मोड, धनकुटा क्याम्पस गेट, दीपाचोक, दूरसञ्चार, सल्लेरी वन जस्ता साना÷ठूला स्थल स्पर्शसहित स्कुल डाँडाबाट अघि बढेपछि क्षितिज पनि बादलसँग लुकेर हराएझैं लाग्नथाल्यो ।
भुइँकुहिरोले ढाकेर हिले बजारदेखि अघि जाने बाटो भुवा छिटेर छोपेझैं थियो । बादलका लप्कालाई चिरेर भए पनि सुस्त गतिमा गुडिरहन्थे बाहनहरू ।  अस्मानबाटै फुस्फुसाएझैं लाग्ने सेतासेता मिहिन कणहरू पनि थोपा अवतार लिएर सिमसिमे बर्षिइरहेको बेला बाटामा कति ठाउँ चोबलिंदै र ओबानिंदै गुड्ने हाम्रो बाहन कतिपटक हिलोमा घस्रन पुगेका घटना ताजा बनिरहे । त्रिसुले, जोरपाटी, गुराँसे हुँदै सिधुवा बजारको मेरुदण्डबाटै बढेर नूनथलाको थाप्लोबाट चित्रेतर्फ डोरिंदा रजनीले आफ्नै रङ्ग छर्न शुरु गरिसकेको थियो । वसन्तपुर बजारकै आश्रय आँकलन गरेको प्रयत्नमाथि प्रकृतिको प्रहार झरीपानीका कारणले हिलाम्मे बनेको बाटो नै बाधक बन्यो साधनसहितको यात्रालाई र साथ सहारा लिएर साधनरहित यात्रा प्रारम्भ ग¥यौं दाह्रेगौंडादेखि र लगातारको पौने घण्टाको हिडाइपछि हामी वसन्तपुर बजार पुग्यौं ।
यात्रारम्भदेखि नै शव्दगङ्गाको वाणी प्रवाहमा निर्लिप्त भै रमाएका हामीले समयलाई न त प्रकारमा बाँड्न भ्याएका थियौं न त परिकारमा साँध्न नै । निष्पट्ट भै अन्धकार रात पोखिएका बाटा र बस्तीहरूमा श्रावणको झरी लगातार थापेर आश्रयस्थलको ठेगान लागेपछि एक पटक स्मरण ग¥यौं ज्योतिष विज्ञानको गणितीय खेलसँग बाहाँ जोडेर फष्टाएको खगोल गणितलाई । सूर्यमासले २०७५ श्रावण ११ गते शुक्रबारको यो दिन चन्द्रमासले आषाढ शुक्ल पूर्णिमा, खग्रास चन्द्र ग्रहण लाग्ने दिन थियो । हामीले घटनालाई न वैद्धिक परम्पराको बहस बनायौं न  वौद्धिक विज्ञानको । हामीले  केवल कम व्यस्त र अधिक फुर्सद भएका हाम्रा बाँकी दिनको गिन्ती  घटाउने हृदयपटको लेखालाई यात्राको ढुकढुकी ठानी रह्यौं । यसर्थ त्यसै रात लाग्ने खग्रास चन्द्र ग्रहण पनि हाम्रा लागि गौण सावित भयो ।
आयुभरिको जीवन स्थायी भए पनि एउटै पनले एकनासले जीवन रुँगेर बस्दो रहेनछ । पनका अवधि पनि जीवनका नैसर्गिक गहना हुँदा रहेछन् । पन जीवनमा अनेक रङ्ग बनेर आउँदो रहेछ, सुसुप्त भएर पनि अक्षय हुँदो रहेछ । भिन्न भिन्न बेलाको पन र मनको तादात्म्यताले पनि यात्रा झन रोमाञ्चक बनाइरहेथ्यो । समयले जोड्दै गोड्दै र छोड्दै लगेका अतीत वयकी अनन्य सँगाती देवीसँगको बिद्युत्तीय तरङ्गमा भएको भेटले हाम्रो यात्रामा पाश्र्व पात्रको सहभागिता समेत पाएझैं भान हुन्थ्यो । अतीतका अरु कति साथीसँगाती पनि पाश्र्वपात्र बनेका थिए हाम्रो यात्रामा र प्रविधिकै प्रयोगवाट आफ्ना जीवनानुभूत सत्यतालाई वाकद्वारबाट अर्पिएका थियौं एकअर्कामा, जसले गर्दा निश्छल र निर्मल अतीत निकैबेरसम्म घुमिरह्यो आफैंसँग ।
    वसन्तपुर भ्यु टावर होटलको आतिथ्यतामा दिनभरिको अनुभूतिको कैरनभन्दा पनि लेकाली भेकको चिसो वातावरणलाई पनि सहज समनका स्रोत साधनको सुगमताले न्यानो आभास दिलाएको थियो । रातको नीरवतासँगै आफ्ना कौतुहलता र चञ्चलतालाई मिसाएर थकान बिसाउँदासम्म हाम्रो भोलिको यात्रा तीर्थाटन कि पर्यटन भन्ने निर्णय भएको थिएन ।
भोलिपल्ट २०७५ साल श्रावण १२ गते शनिबार पनि सूर्य बिनाको विहानी पोखियो वसन्तपुरको बस्तीमा । बेंसीबाट खोलाको किनारै किनार उँभो बढ्ने बादल वसन्तपुर बजारको बस्तीसम्म छाम्न आइसकेको थियो । बजारभन्दा केही माथिको उचाइदेखि बादलकै घुम्टो लाग्नुको चमत्कारले दन्त्य कथाको बादल माथिको सहरमा छौं कि जस्तो रोमाञ्चकता लिएर अबको यात्रा तीर्थाटन भन्दै उत्तरतर्फको बाटोमा पैदलयात्रा अघि बढायौं ।
 कैयौं दिनदेखि प्रभाकर पनि पाश्र्वमै भुलेर तेजोरश्मीको स्पर्शबिहीन बनेका ठुला बाटाहरू दलदले हिलो मै डुबेका थिए भने चिम्ट्याइलो माटोमा पलाएका तृणत्यान्द्रालाई पैतालाकै प्रयत्नले घोटेर बनेका बाटाहरू पनि अबिराम झरिरहने सिमसिमे पानीले सारै चिप्ला बनेका थिए । झण्डै सवा घण्टाको हिंडाइपछि एक बिसाउनी लियौं टुटे देउरालीमा र स्थानीय होटलमा  सात्वीक चियापान गरी पुनः अघि बढ्यौं हामी । क्षितिज हराएको संसारमा सुदुरको लम्बाइ पनि सारै छोटो लाग्थ्यो बादलले ढाकेर केही नदेखिंदा । खुल्ला बाटोभरि सिमसिमे झरी र बटबृक्षको आश्रयमा तप्कानीको एकछत्र राज थियो । बस्ती कम, नागी र जङ्गल नै बढी थियो बाटामा । मानिससँगको भेटघाट न्युन हुन्थ्यो । चरन चहुरमा पानी झरीको पर्बाहै नगरी गाई÷बाख्रा चरिरहेका त कतै बाटामै विश्राम लिइरहेका देखिन्थे÷भेटिन्थे ।  केहीबेरको हिंडाइपछि हामी सामूदायिक वन उपभोक्ता समितिद्वारा प्रबर्धन गरिएको देउराली, आर आर गार्डेन, कैलाश हिल, दुडपानी, घुर्बिसे, पाथीभरा, पाँच पोखरी तथा तीनजुरे पर्यटकीय क्षेत्र निर्धारण संरक्षण गरिएका ठाउँ, गुराँसघारी र विभिन्न जातजातिका बोट बिरुवाले भरिभराउ ठाउँहरूको अवलोकन गर्दै विहान ९ः३० बजे पाथीभरा मन्दिर भएको शिखरतिर बाटो मोडिने २६६० मीटर अग्लो तीनजुरैको सानो बस्तीमा शारीरिक थकानका बावजुद पनि भावात्मक श्रद्धा, प्रकृति प्रेम र मानसिक उत्साहका साथ पुग्यौं ।
    
हिउँदे खडेरीमा धुलाम्मे र हिमपातका बेला बाटो, छानानदेखि दलानसम्म हिउँका चपरी बनिने मौसमी अनुहार लिएर बसेको तीनजुरेको सानो बस्तीमा बर्षा यामको भुइँ कुहिरो र हुस्सु खेपेर बलेंसीमा तप्कानी चुहिरहेको थियो । लेकाली भेक, बर्षाद झरी, यात्राका लागि साधनको न्युनता मात्रै नभई भएकै साधनमा यात्रा गर्न पनि जोखिम बढी भएको त्यस परिवेशमा पैदल यात्राको चार घण्टाको भगिरथ हिंडाइले शरीर शिथिल बनेको थियो । सानी पाथीभरा र गुफा पोखरी जान यहींबाट बाटो छुट्टिन्थ्यो । हामीले सानो होटलको आश्रय लियौं । बासस्थानको व्यबस्था आफ्नै परिवारका लागि मात्र हुन सक्ने तर बाटाका बटुवालाई क्षणिक विश्राम र खानपीनको समेत व्यबस्था गर्ने गरी आफ्नो जीविकोपार्जनसमेत गरिरहेकी गीताले चलाएको होटल रहेछ त्यो । त्यहाँबाट धेरै माथि  उकालोमा सिंडी चढेपछि पुगिन्थ्यो पाथीभराको मन्दिर । भिरालो र तेर्सो हिँडेर पनि थकित भएका थियौं हामी । भोक प्यासले पनि सताएको थियो, फेरि उकलो हिड्नका लागि शरीरलाई शक्ति प्रवाह गर्न केही खानुपिउनु बेला र अवस्था दुबै थियो । देवीको दर्शन र पूजाआराधना पूर्व निशेध नगरिएका सामान्य पेय जुसमात्र पिएर मन्दिरतर्फ चढ्ने निधो ग¥यौं । पूजा सामग्री उनै पसल्नीले बन्न्दोबस्त गरिदिईन् ।
पथ पथिक तथा तीर्थालुहरूको चाप न्युन भएको समय हुनाले व्यापारको मन्दी भएर होला धेरै परिकार त्यहाँ रहेनछन् । फर्की आउँदासम्ममा दालभातको जोहो गरिदिने हाम्रो आग्रहका अघि उनी असमन्जस्यमा परिन् । लोकल कुखुराको मासु र भात तयार गर्न सकिने आशय दर्साइन । साथी हरि र सोम उनको आशयप्रति खुसी हुनभएन । पठितहरूको वाक चातुर्यका अगाडि उनको शव्द सामथ्र्य कमजोरझैं भयो । जानेर बोल्नेहरूको विद्वताले सदिच्छालाई थाती राख्छ र अनिच्छाले पनि बोलिदिन्छ  तर मानेर बोल्नेहरूसँग तर्कभन्दा हार्दिकता बढी हुन्छ । मनका शव्दलाई आवाजमा बदल्न कति गाह्रो छ दुनियाँमा ! बलजफ्ती बक्ने शव्द पनि बुख्याँचाझैं सारहीन बरु त्रासद हुन्छन् । जब्बर जति नै बने पनि प्राकृतिक सत्यझैं लाग्छन् सनातनी कति कुराहरू ! आँसुमा होस् वा हाँसोमा पुरुषका जब्बर नियतिलाई टुक्रा टुक्रा पार्ने सामथ्र्य लुकेको हुन्छ रे नारी मुस्कानको मधुरतामा । मनका शव्दलाई आवाजमा गाल्नुभन्दा चरित्रमा खोट नलगाई पनि कर्मशील इसाराले दुनियाँ पगाल्न सक्ने सामथ्र्य लुकेको हुँदो रहेछ नारीमा ।  हतियारले रिपुलाई रोपेरभन्दा रिपुका रोशनीलाई छोपेर पनि इश्र्याको गर्भमा प्रेम फुलाउने सामथ्र्य हँदो रहेछ  अर्गानिक जीवनको कलामा । रोशनी गलेपछि आँखाहरू प्रेमिल बन्न र बिना प्रतिवादको हार्दिकता स्वतः सिर्जन्छ त्यहाँ, मन फेरिन पनि बेर लाग्दो रहेनछ । चर्म चक्षुका रश्मीले ग्रहण गरेको रङ्ग रमीता शिराशिरा हुँदै मनमस्तिष्कमा पनि सल्बलाउन बेरै लागेन । अघिका अनिच्छाहरूको अवशान भएपछि मन्दिरबाट फर्की आएर उनकै आशयअनुसारको परिकार खाना खान सहमत भयौ. सबैजना तर हाम्रै इच्छा पूर्तिको अन्तिम सपना चाहार्नेे अन्जान पक्षी समय सुसेलेर रमाउन चरनमै रमाइरहेको थियो । त्यस निरीह प्राणीलाई के थाहा अहिल्यै आफ्ना सबै इच्छाहरू साहदात होलान भन्ने ? भालेलाई नियन्त्रणमा लिन हामीसमेत आधा दर्जनले छेकारो हाल्यौं ।  निर्जनतिर नगई पटकपटक बस्तीमाझमै बेगिएको भालेलाई प्रणयशखी पठाएर प्रेमजालमा पारौ. भन्ने गुणराजको कथनले हामीमा हाँसोको फोहोरा छुटाएको थियो । विकार÷विलास बिर्सिएर तत्वज्ञान प्राप्तिका लागि माताको दर्शन गर्न मन्दिर जाने बेलामा त्यसरी प्राणी वधको संग्राममा होमिएर जीवात्माप्रतिको उपहास नै गरेको भए पनि किंबदन्तीमै बर्णित भागल चुसेर खुसी हुने माताको मन्दिरमा जाने बेलाको यो तमासा पनि अनुभवको एउटा दस्तावेज बन्यो हाम्रा लागि । हामी पाथीभरा माताको दर्शनका लागि सिंडीको उकालो लाग्यौं ।
हिंड्दा हिंड्दै भुगोल फेरिएर अघि मा...ऽ..थि भनिएका धेरै ठाउँहरू त..ऽ..ल त..ल हुँदै गए । बाक्लै भएर लागेको कुहिरोले भुइँ  र आकाशलाई नै एउटै कित्ताझैं बनायो । बुकी फूलका बुट्यानका झ्याङबाहेकका चहुरमा भएका पिपिराहरू केवल हरियो रङमात्र बचाएर बसेका थिए । नागीको चरन हुनाले पशुदाह्राले आहाराका लागि दिनदिनै चुंडिएर पनि आकार क्षीण भएको आयुका हरिया घाँसले ढाकेका चहुर र पखेरामा भेडाका बथान डुलेको धमिलो आकृतिमात्र देखिन्थ्यो । सबेरैदेखि चहुरमा दाह्रा दलेर थकित गाई÷बाच्छाहरू हाम्रै यात्रालाई स्वागतार्थ उभिएझैं ठाउँ ठाउँमा उभिएर हामीलाई हेरिरहन्थे ।
 झण्डै आधा घण्टाको अविश्रान्त उक्लाइपछि हामी पाथीभरा माताको मन्दिर परिसरमा पुगेका थियौं । तेह्रथुम र संखुवा सभा जिल्लाको पानीढोलो सीमानामा २९०० मीटर उचाइमा रहेको डाँडामा संखुवासभाको धर्मदेवी नगर पालिका सीमाभित्र अवस्थित मन्दिर परिसरभित्र गणेशको र माता पाथीभराको मन्दिर अलगअलगै रहेछन् । पहिले गणेशको पूजा गरी हामी पाथीभराको मन्दिरभित्र प्रवेश ग¥यौं ।  पूजारीले गरेको सहजीकरणअनुसार माता पाथीभराको पूजाआराधना गरी नजिकै रहेको नेपाल टेलिभिजनको प्रशारण लाइन विस्तारको टावर रहेको ठाउँको अवलोकनसँगै त्यहाँ रहेका सेवाप्रदायक कर्मचारीसँगको साक्षात्कार र तात्तातो चियासँगको भेटघाट पछि भर्खरै आफ्नो पाइतालामुनि परेको भूभागलाई फेरि बिस्तारै माथिमाथि पार्दै उही तीनजुरेको होटलमा आइपुगेर विहानको विधिवत खानपीनमा सरिक भयौं ।
बोलाइमा सहजता र व्यबहारमा विश्वसनीयता निश्छल जीवनका विशेषता देखियो तीनजुरैको सानो बस्तीमा  सामिप्यताको अर्को नाम सौहार्दता भएर । पूर्व परिचिय÷समपर्करहित भएर पनि एकै भेटमा  होटलवाली गीताले हामीप्रति राखेको हार्दिकता र सहर्ष सुम्पिएको आतिथ्यताबाट हामी पुलकित मात्र भएनौ जीवनको गतिलाई नियति  नै मान्ने हो भने सभ्यतालाई बाचाइ राखेको संस्कारको जीवन्तता पनि अनुभूत ग¥यौं हामीले त्यहाँ ।
दिन मध्यान्नबाट उत्तरार्धतिर ढल्कँदै थियो । अविछिन्न ओइरिइरहने झरीबादलले गर्दा अझै पनि मौसम यात्राका लागि अनुकुल थिएन । न क्षितिज देखिन्थ्यो न सगर ? कुहिरोको साम्राज्य अझै कायम हुनाले टेकेभन्दा धेरै प...र देखिंदैनथ्यो । गुराँस फुलेको सुन्दरता ऋतुले पहिल्यै लिएर गएको गुराँस घारीले पनि भुवादार देखिने बादलको खास्टो घम्लङ्ङ ओढेको हुनाले गुराँसको राजधानी नाममात्र धन्य भयो हाम्रा लागि । छोटो समयको भेटघाट भए पनि व्याबसायिक÷व्यापारिक सम्बन्धले पनि प्रगाढ मित्रझैं बनेकी गीतासँग विदावारी हुँदा चीरपरिचित बान्धवसँग छुट्नुपर्दाको जस्तो नियास्रो मन लिएर पैदल पथका पथिक हामी फर्कियौं विहान गएकै बाटो । उही विहान हिंडेका गोरेटा÷गल्ली र मार्ग, उस्तै झरीको रुझानसँग पनि रमाउँदै तीन घण्टासम्मको अविछिन्न हिंडाइमा पानीले भिज्नु, चिप्लिएर लड्नु, चुकाले रगत चुस्नु र बग्नु स्वभाविक घटनाझैं ठान्दै भोग्दै वसन्तपुर बजार आइपुग्दा रश्मीरहित दिन गल्न थलिसकेको थियो । स्मरणका लागि केही छाञाछवि समेटेर थप आधा घण्टा हिंडेपछि चित्रेउत्तर दाह्रेगौंडामा आइपुग्यौं । हेराइमा हिस्सी र बोलीमा मिठासभन्दा उत्तम सत्कार के नै हुन सक्छ र पथिकका लागि । त्यहाँको सानो पसल भए पनि त्यही शिष्टाचारयुक्त सौहार्द सत्कारसहित हामीलाई दिएको फलाहारले जाग्दै गरेको जठराग्नीको ज्वाला समन गरेर बाटो लाग्यौं यहाँबाट । अप्रत्यासित रूपमा हिले बजारमा अर्को कुनै साथीको सौजन्यमा पुनः हलुका खाजा खाई पहाडका केही तरकारी किनेर हुइँकियौं लोकमार्गको दक्षिण यात्रा । मूलघाट, तमोर आइपुगदा बाटा÷बस्तीमा रजनीको राज शुरु भइसकेका भए पनि हाम्रो गतिमा खासै प्रभाव÷अवरोध नभएकाले निरन्तरको गुडाइ÷दौडाइ पछि तरहरा आइपुग्दा अघि नै साँझको आठ बजिसकेको थियो । यात्रा प्रारम्भमा चियापान गरेर हिँडेको उही होटलमा आएर पुनः चिया खाजा खाई राती ९ः३० बजे हामी आआफ्ना घर आइपुगेका थियौं ।
पूर्व योजना र कुनै परामर्श बिनानै आकस्मिक रूपमा प्रारम्भ गरिएको यस यात्रामा निर्दिष्ट लक्ष भनी केही पनि किटान नगरिएकाले आर्जित अनुभूति नै स्वतस्पूmर्त उपलब्धि बने हाम्रा लागि । आदिम युगका कविलाको स्वैच्छिक विचरणजस्तो अप्रत्यासित भए पनि कुनै अनिष्टताको सामना गर्नु परेन हामीले । पहाडी प्रकृतिको रमणीयता मैतालुमा हुने लज्जाजसरी घुम्टोभित्रै छेलिने बर्षायामको यात्रा पूर्व योजनाबेगरको हुँदा झेल्नु परेका मौसमी कठिनाइबाहेक पनि हृदयले अघाउञ्जेल आनन्द लिएर फर्कियौं । प्रकृतिको काखमा रमाउँदै हाम्रा सभ्यता र संस्कृतिलाई आत्मसात गर्ने सौभाग्यशाली पनि बन्यौ । जीवनको फेहरिस्तामा थपिएको यो लेखा अनाम सत्य भएर सार्थक बनेको छ साथै भावी समयका लागि योजना र प्रेरणा पनि । अस्तु......!    
   

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...