Saturday, July 11, 2020

कथांश

                                   अनाम सत्य (कथा)

जीवनको आयतन खोज्दै गरेको बेला..
...

औसत अनुहारमा रहने चर्मचक्षुको आवरणीय बनावटभन्दा अलिक भिन्न थिए उनका आँखा । उसबेलाको शिक्षा आर्जनका अवसरहरूमा ग्रामीण भेकका प्रायः सबै विद्यार्थीहरू साँझविहानको घरधज्दा, समयानुकुल गाउँबेंसी मेलापात धानेर उब्रिएको समयमात्र पढ्ने हुनाले होला अनुमान लाउँदा १७÷१८ बर्षको हुँदो हो उनको उमेर । धनकुटा क्याम्पस प्रवेशको उत्तरतर्फको मूल प्रवेशद्वारबाट सँधै उही समय उनी प्रवेश गर्थिन् हाताभित्र ।गहुँगोरो बर्णको चेहराचक्षुमा श्रृङ्गार प्रशाधनको सीमित प्रयोगले पनि गालामा हलुका लाली चढेको आभाष पाइन्थ्यो भने अधरको प्राकृतिक रङ्ग लुकाएर भिन्न बनाएकै भए पनि उस्तो कृत्रृमता पाइन्नथ्यो  । आँखामा हुने प्राकृतिक दृष्टि सामथ्र्यमा बिचलन आएर नै होला कार्वोन फ्रेमको छरितो घेराभित्र पारदर्शक शीशामा दुष्टि सामथ्र्य सन्तुलन गरिएको चस्मा लगाउँथिन उनी । त्यही पारदर्शी शीशाको कारण चस्माको घेराभित्रको आँखाको वरिपरिको भाग भधुरो गाजल पोतिएझैँ देखिएर गडेको थियो भने त्यसभित्र रमाएका दुबै नेत्रका प्रक्षेपणमा मोहनी मादकताको जादुझैँ विचित्र आकर्षण हुन्थ्यो मेरा लागि ।
मेरो पनि उही बाटो उही समय हुन्थ्यो क्याम्पस प्रवेशको मुहुर्त । यक्कीन नगरिएकै भए पनि उमेरले उनकाभन्दा आधा दर्जन बढी हिउँद बषाृको अनुभवी म तर मलाई त्यसताका उनीप्रति हृदयको आवाज कोरल्ने कित्तामा प्रवेश गर्न नै नैतिक रूपमा नाकाबन्दी सरहको परिवेशले म बर्जित थिएँ हुदयरागमा रमाउन ।
हरेकदिन उनीभन्दा केही पहिले नै हाताप्रवेशद्वारमा पुगेर उनको आगमनलाई नियाल्नु मेरा दिनचर्यासरह हुन्थ्यो । कहिले एक्लै त कहिले कुनै साथीसँग बिना वहानामै म त्यतै टोलाएको हुन्थेँ उनी नआउञ्जेल । अपशोच म एक्ले हुँदा उनी कुनै सङ्गीका साथ त म साथीसँग हुँदा उनी एक्लै हुन्थ्यौं प्रायः हामी त्यसैले साक्षात्कारका कति समय ब्यर्थ भए हाम्रा लागि अनि संवातहीनता नै कायम रह्यो ।  म चाहन्थें हामीबीच यस्तो संवाद होस जुन संवादको आवाजलाई अरुहरूले सुन्न त के हावाले छुनसम्म नपाओस । मात्र एकअर्काका कानसम्म पुगेर सुटुक्क हृदयमा छिरून् र त्यहीं विराजमान होऊन सँधैभरि । तर कलकण्ठका धून त चार आँखालेसमेत कुनै मनसुन पनि बनाएनन् रोशनी साक्षात्कार हुन । एकको दृष्टि अर्काेको मुहारमा पर्दा अर्कोको दृष्टि एकको पयरमा ।
आकाशै अलिक गाढा नीलो रङ्गको कुर्तासलवार उनको दैनिक पहिरन  थियो । साम्नेमा आइपुग्दा शीर अलिक निहु¥याएर हिड्थिन् । नारी सुलभ वक्षस्थललाई हलुका आड लगाएर कापी÷किताव च्याप्दै मेरो छेवैबाट अघि जान्थिन् उनी । त्यसबेला म उनका हातगोडाका औंलाको गतिको सुक्ष्मतासमेत नियाल्न खोज्थेँ । जब उनी अघि जान्थिन् उनको शिरदेखि कुर्कुच्चासम्म उसरी नै नियाल्थेँ । हामी एकअर्काबीच कुनै दिन कटाक्ष नभए पनि लर्कँदो लामो चुल्ठो, मर्कँदो कम्मर, मच्कँदो हीप र ढल्कँदो हिँडाइका पछि सोही गतिमा मेरो ढुकढुकी चल्थ्यो धेरैबेरसम्म ।
समयले हामीलाई रुँगेर बसेन र हामीले पनि समयलाई पच्छ्याउन सकेनौ ।  भूगोलको भिन्नताले हाम्रो यात्रा भाँजियो । हामी दुबैको धनकुटा बसाइको अवधि सकियो । उनले के लिएर गइन त्यो त उनी नै जानून् तर मैले भने आँखामा उनको छाञा र मनमा उनीप्रतिको अनौठो सपना लिएर गएँ । भेटघाट चटक्कै भएन बर्षौंसम्म ।
क्रमशः...

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...