प्रेम, दिवश र मान्छे
(प्रेमले साहस र शक्ति क्षीण हुन्छ भन्ने रोम सम्राट क्लाउडियस द्वितियका विचार विरुद्ध अनुशासनको प्रेम र आकर्षणमा रमाउनु धर्म सम्झने भ्यालेनटानलाई ई.पू. २७० को फेब्रुअरी १४ मा तत्कालको रोम सम्राटले मृतयुदण्ड दिए पनि उनै प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरी भ्यालेन्टानको सम्झनामा मनाउन थालिएको प्रेम÷प्रणय दिवशको सन्दर्भमा)
इन्द्रेणीले छाडिगएका रङहरू बटुलेर
मैले क्यान्भासमा
अघि नै कोरेको प्रेमपत्रसँगै
आलिङ्गनमा बेरिएको मुस्कान
फूलका पत्रहरूमा टप्काएर तिमी
शितका थोपामा ऐना झैँ हेरेकी थियौ
जीवनको उमङ्ग ।
हरेक स्वासमा
जीवनको सरगम बजेका ढुकढुकी धून सजिएर
ओठबाट बुलन्द बनेको त्यही पल,
जीवन मुस्कुराउँदा
शब्दमा उनेर प्रेम दिवशको कथा,
लेख्नेहरू जलेर बने जीवनहिन सालिक,
लेखिनेहरू बलेर बाँच्छन् न्यानो प्रेमिल रात ।
अघि
जून अस्ताइजाँदा छाडेका टहक,
शितमा भरेर क्षितिजबाटै
ऐना कुँदिएर आँखामा,
उफान भई फैलन्छन् प्रणयका छाल ।
घामका झुल्काले लखेटेर
मनोद्वेगको शितलतालाई
कोपिला च्यातेर डसिरहन्छ्न् भमरा,
कुमारी रस लुटिएर पनि
बौरिन भनी तड्पन्छन्
‘रोज डे’ भन्दै अर्पिइएका गुलावका फूल ।
नदीका सुनसान लहरसँगै तैरिएर पनि
चुपचाप चुपचाप बगिजाने फूल,
भावनासँग दाँजिदैन पसलमा मोलिएको महङ्गो प्रेम ।
प्रवासिएको प्रेमीका शब्दाकार मन
हुलाकी हत्केलाले सुम्सुम्याउँदा
हृदय झैँ कोमल,
पवन झैँ शितल जीवन,
भुवकार आसनमा सुटुक्क छिरेर पनि सिरेटो
सपना झैँ सुन्दर
अनि
अबैतनिक हुनुपर्छ प्रेम ।
हावाको पुरखा पच्छ्याएर
बाल्नु छैन प्रेममा धिपधिपे आगो,
बोटबाटै चुँडेर अवमूल्यन गर्नु छैन गुलाव
र
पछुताउनु पर्ने छैन
जवानी दिएर छाडिजाने उमेरसँग ।
बाहाँभरि बाहाँ नापेर
हत्केलामा बिसाउँदा भुली आएका क्षण,
ल्याइते अत्तरले फैलाएको
संक्रामक हिस्साभन्दा माथि उठेर
मन्त्रोचचारणसरि होउन् प्रणयका ऋचा
र
सोर श्रृङ्गरको बिल्लाभन्दा माथि उठेको
हृदय जडित मानवतासँग
सौहार्द सहयात्राको जीवन्त खुसी हुनुपर्छ प्रेम ।।
No comments:
Post a Comment